सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमालेले सुर्खेतका सबै पालिकामा आफ्ना उम्मेद्वार तयार गरेको छ ।
आसन्न स्थानीय निर्वाचनका लागि जिल्लाका ९ वटै पालिकाका मार्फत सिफारिस भई आएका उमेद्वारका लागि एमालेको दुई दिनसम्म बसेको प्रदेश टिकट समन्वय समिति बैठकले उम्मेद्वारको टुंगो लगाएपनि सैद्धान्तिक निर्णय भने हुन सकेको छैन ।
स्रोतले जनाए अनुसार एमालेको तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल छन् । ढकाल एमालेबाट स्थानीय निर्वाचन २०७४ मा वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित थिईन् । खनाल भने वीरेन्द्रनगर–४ का वडा अध्यक्ष थिए ।
भेरीगंगा नगरपालिकाका लागि एमालेको पालिका कमिटिले १३ जनाको नाम शुक्रबार सिफारिस गरेको थियो । पालिकामा आकांक्षी धेरै हुँदा स्थानीय तहमै विवाद मिलाउन नसकेपछि भेरीगंगामा एमालेको पालिका कमिटिले जिल्लालाई १३ जनाको नाम सिफारिस गरी पठाएको थियो । सो मध्यबाट यज्ञप्रसाद ढकाल पालिकाको प्रमुख पदमा एमालेका तर्फबाट निर्वाचन लड्ने भएका छन् । उपमेयरका लागि भने छलफल भईरहेको छ ।
गुर्भाकोट नगरपालिकामा एमालेबाट सर्वसम्मत रुपमा तिलक खत्री यस अघि नै सिफारिस भएका थिए । उनि नै पालिकाको प्रमुख पदमा छन् । प्रदेश टिकट समन्वय समिति बैठकले गुर्भाकोटको उपप्रमुख पदमा भने सुशिला विश्वकर्मालाई टिकट दिएको छ ।
पञ्चपुरी नगरपालिकाबाट सिफारिस भई आएका रेशम राना र धनबहादुर थापा मध्य थापालाई अध्यक्षका लागि टिकट दिइएको छ । उपप्रमुख पदमा भने निर्णय हुन सकेको छैन ।
यसैगरी लेकवेशी नगरपालिकाबाट देव राना र विमला खल्लुख सिफारिस थिए । रानालाई अध्यक्ष र खल्लुखलाई उपप्रमुख पदका लागि टिकट दिइएको छ ।
चौकुने गाउँपालिकाबाट हरी अधिकारी र निर्मला राना सिफारिस भएकोमा अधिकारीलाई प्रमुख पद र रानालाई उपप्रमुख पदका लागि टिकट दिइएको एमाले स्रोतले जनाएको छ ।
बराहताल गाउँपालिकामा घनश्याम पाण्डे प्रमुखका लागि र उपप्रमुखका लागि दुर्गा विष्टलाई टिकट दिइएको छ । चिंङ्गाड गाउँपालिकामा वोधविक्रम जिसी प्रमुख र मिना रोकायाले उपप्रमुख पदका लागि एमालेबाट टिकट पाएका छन् ।
सिम्ता गाउँपालिका अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा रेग्मीले टिकट पाउने भएका छन् ।