कर्णाली । झोलुंगे पुलको लठ्ठा बाँध्ने क्रममा भेरी नदीमा खसेर बेपत्ता भएका एकजनाको शव भेटिएको छ । बिहीबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले २४ वर्षीय अनिल घर्तीको शव भेटाएको हो ।
सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतको गोताखोर टोलीले उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । शव नदीको झण्डै ४० मिटर गहिराइमा अड्किएको अवस्थामा फेला परेको हो ।
उनीसँगै भेरीमा खसेर बेपत्ता भएका १८ वर्षीय अर्जुन झाँक्रीमगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । दुवै जना रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ का हुन् ।
भेरी नदीमा बेपत्ता भएका दुवै जनाको खोजीका लागि नम्बर ६ महेश्वरी बाहिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक राम खत्रीसहितको टोली घटनास्थलमा छ । बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निमार्णाधीन झोलुंगे पुलको जाली लगाउने बेला लठ्ठाले हुत्याएपछि बुधबार उनीहरु नदीमा खसेका हुन् ।