काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो ।
अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने छ । यसअवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ ।
पहिलो चरण
युद्धविरामको पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात सय मिटर पछि हट्ने छन् ।
यसअघि इजरायलको न्याय मन्त्रालयले पहिलो चरणमा ७३७ प्यालेस्टिनी रिहा हुने जनाएको थियो । यद्यपि त्यसको पूर्णसूची सार्वजनिक भइसकेको छैन । तर मन्त्रालयले आइतबार ६९ महिला, १६ पुरुष र १० नाबालिगलाई मुक्त गर्ने जनाएको छ ।
इजरायलले हरेक दिन आफ्नो एक बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गर्ने छ ।
दोस्रो चरण
युद्धविरामको पहिलो चरण सबै ठिकठाक कार्यान्वयन भएमा दोस्रो चरणका लागि वार्ता सुरु हुनेछ । यस क्रममा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएको छ । युद्धविरामको क्रममा इजरायलले कूल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्ने छ । रिहा हुनेहरुको सूचीमा १५ वर्षदेखि इजरायलमा बन्दी जीवन बिताइरहेकाहरु पनि रहेका समाचार एजेन्सीहरुले जनाएका छन् ।
तेस्रो चरण
तेस्रो चरणमा इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रमा पुनर्निर्माण सुरु हुनेछ । पुनर्निर्माणको काम ३ देखि ५ वर्षभित्र सक्ने लक्ष्य छ । यसक्रममा कब्जा लिइएको अवस्थामा मृत्यु भएका बन्धकहरुको शव पनि आदान–प्रदान गरिने छ ।
युद्धविराम सम्झौता कार्यान्वयन अमेरिकासहित चार देशका प्रतिनिधिहरुले निगरानी गर्ने छन् । निगरानीका लागि अमेरिका, इजिप्ट, कतार र इजरायलका प्रतिनिधि रहेको एक संयुक्त कार्यालय समिति गठन गरिएको छ । मानवअधिकारवादी संस्थाहरुले पनि आफ्नो ढंगले निगरानी जारी राख्ने बताइएको छ ।
आफन्तहरु भावुक
लामो समयपछि युद्ध बन्दीहरु रिहा हुन लागेको खबरले उनीहरुका आफन्त हर्षित र भावुक देखिएका छन् । शनिबार इजरायलको राजधानी तेल अभिभमा महिलाहरु भेला भएर आफ्ना आफन्तका लागि प्रार्थना गरिरहेको देखिएको थियो ।
सन् २०२३ को अक्टुबर ७ मा इजरायली भूमिमा छिरेर हमासले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो । त्यसको केही घण्टापछि इजरायली सेनाले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणबाट ४६ हजार जनाको मृत्यु भइसकेको छ । १५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो ।
इजरायल–हमास युद्ध सुरु भएदेखिका मुख्यमुख्य घटनाक्रम:
७ अक्टुबर २०२३ : हमास लडाकुले गाजा क्षेत्रबाट इजरायलमा घुसेर आक्रमण गरे ।
७ अक्टुबर : लेबनान र हिजबुल्लाहले इजरायलमा हमला गरेर यो प्यालेस्टिनीको समर्थनमा भएको बताए ।
१३ अक्टुबर : इजरायलले आक्रमण सुरु गर्न लागेको भन्दै गाजा क्षेत्रका बासिन्दालाई दक्षिणतर्फ जान भन्यो । यसबाट गाजा क्षेत्रका पूरै बासिन्दा विस्थापित भए ।
१९ अक्टुबर : एक अमेरिकी नौसेनाको जहाजले यमनबाट इजरायलतर्फ प्रहार गरिएको ड्रोनलाई विफल पार्यो । यमनले इरान समर्थित हुथी विद्रोहीले इजरायल र लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण जारी राखे ।
२१ अक्टुबर : मानवीय संकट गहिरिँदै गएपछि इजिप्टले गाजामा राफा सीमा क्षेत्रबाट राहत सामग्री पुर्याउने अनुमति दियो ।
२७ अक्टुबर : इजरायलले गाजामा पहिलोपटक स्थल हमला सुरु गर्यो ।
१५ नोभेम्बर : हमासले प्रयोग गरेको भनेर इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा कब्जा गर्यो । त्यसको केही हप्तामै गाजाका सबै अस्पताल बन्द भए ।
२१ नोभेम्बर : इजरायल र हमासले ७ दिनका लागि युद्धविराम घोषणा गरे । आधा बन्धकहरुलाई रिहा पनि गरे ।
१ डिसेम्बर : युद्ध पुनः सुरु ।
२६ जनवरी २०२४ : हेगस्थित अन्तर्राष्ट्रिय अदालतले नरसंहार रोक्न इजरायललाई आदेश
२९ फेब्रुअरी : राहत सामग्रीका लागि लाइनमा उभिएका १०० भन्दा बढी गाजा निवासी इजरायली सेनाको आक्रमणमा मारिए ।
७ मार्च : गाजामा भोकमरी र खाद्य संकटका बीच राहत सामग्री पुर्याउन अस्थायी बन्दरगाह बनाउने अमेरिकी राष्ट्रपति जो बाइडको घोषणा ।
१ अप्रिल : दमास्करस्थित इजरानी दूतावास परिसरमा पनि इजरायलले गरेको आक्रमणबाट सैन्य अधिकारीहरुको मृत्यु । जवाफमा इरानबाट पनि इजरायलमाथि सयौं मिसाइल प्रहार ।
५ मे : युद्धविरामको प्रस्ताव स्वीकार गर्ने हमासको प्रतिबद्धता । इजरायलद्वारा अस्वीकार । युद्ध जारी ।
२३ जुन : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्वारा गाजामा हमासविरुद्धको लडाइँ समाप्त हुने चरणमा रहेको घोषणा ।
२५ जुन : ग्लोबल हंगर मोनिटरदवार गाजामा अकालमा मृत्यु हुने जोखिम बढेको चेतावनी ।
२ जुलाई : इजरायलद्वारा खान युनिस र रफाह शहरका बासिन्दालाई सो क्षेत्रबाट हट्न निर्देशन । युद्ध सुरुवात भएदेखिकै सबैभन्दा ठूलो निर्देशन भएको संयुक्त राष्ट्रसंघको प्रतिक्रिया ।
२७ जुलाई : हिजबुल्लाहको रकेट आक्रमणबाट इजरायलको कब्जामा रहेको गोलन हाइट्समा बालबालिकासहित १२ जनाको मृत्यु ।
१ अगष्ट : हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई मारेको इजरायली सेनाको दाबी । हमास प्रतिक्रियाविहीन ।
१७ सेप्टेम्बर : लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने विष्फोटक पदार्थसहितका उपकरण नष्ट गरेको इजरायलको दाबी ।
२८ सेप्टेम्बर : इजरायलको हवाई हमलाबाट लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहका नेता हसन नरसल्लाहको मृत्यु ।
५ अक्टुबर : इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा हमासविरुद्ध अझै ठूलो सैन्य अभियान सन्चालन ।
१५ जनवरी २०२५ : १५ महिना लामो संघर्षपछि इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति ।