कर्णाली । जुम्लाकाे पातारासी गाउँपालिकास्थित क्रणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । विद्यालयमा मोबाइल लैजाँदा विद्यार्थीहरूले ध्यानपूर्वक नपढ्ने र मोबाइलमै रुमल्लिने भएकोले मोबाइल प्रतिबन्ध गरेको हो ।
विद्यालय व्यवस्थापन समितिले विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय शिक्षक, अभिभावक र विद्यार्थीसँग छलफल गराएर अनुमोदन गरेपछि कार्यन्वयनमा आएको हो । अब विद्यालयमा विद्यार्थीहरूले मोबाइल लैजान पाउने छैनन्,’ प्रधानाध्यापक कृष्ण बुढाले भने, ‘मोबाइल भेटिएमा तीन हजार रुपैयाँ जरिवाना हुनेछ । जरिवाना स्वरुपको रकम एक साताभित्र सम्वन्धित विद्यार्थीको अभिभावक आएर विद्यालयमा जम्मा गर्नुपर्नेछ । यदि अभिभावक नै नआएको बखत सो मोबाइल लिलाममा विद्यालयले नै बेच्नेछ ।’
मोबाइल बेचेर आएको रकमले मोबाइल ल्याउने विद्यार्थीको शैक्षिक सुधारमा लगाइने प्रधानाध्यापक बुढाले बताए । क्रृणमोक्ष माध्यमिक विद्यालयमा गतसाता देखि यो निर्णय कार्यन्वयनमा आएको हो । विद्यालयमा मोबाइल प्रतिबन्ध गराउने निर्णयले अभिभावक खुसी छन् । अहिले विद्यालयमा लाइनदेखि कक्षाकोठा प्रवेश गर्दा मोबाइल ल्याएको छ या छैनन् बिषयमा सर्च नै हुने गरेको छ ।
विद्यालयमा पहिले एक सयभन्दा बढी विद्यार्थीहरू मोबाइल बोकेर आइरहेका हुन्थे । विद्यालयको वाइफाइको पासवर्ड लिएर गेम खेल्ने, कक्षामा पढाइ छाडेर खेलमैदानमा आएर मोबाइलमा झुम्मिने गर्दा पठनपाठन प्रभावति हुने गरेको थियो । प्रधानाध्यापक बुढाले भने, ‘अभिभावकहरूले पनि मोबाइल किनेर नदिने बरु घरमा राम्रो पढ्ने वातावरण बनाइदिने प्रतिबद्धता जनाउनुभएको छ । मोबाइलको अधिक प्रयोगले पठनपाठन प्रभावित हुने गरेको निष्कर्ष सबैको छ ।’
मोबाइलमा विभिन्न एपहरू डाउनलोड गरेर चलाएर त राम्रै हुन्थ्यो तर अनावश्यक बिषयहरू हेर्दा विद्यार्थीहरू समेत कुलत तिर लाग्ने खतरा बढेको शिक्षक अभिभावकको निष्कर्ष छ । विद्यालयमा शिक्षकले मोबाइल विद्यालयमा लैजान पाउने भएपनि अनिवार्य साइलेन्टमा राख्नुपर्ने निर्णय भएको छ । प्रधानाध्यापक बुढाले भने, ‘शिक्षकले विद्यालयमा मोबाइल लैजान पाउँछन् । सबैलाई असर गर्ने गरी रिङटोन राख्न पाउने छैनन् । आकस्मिक कल गर्नुपर्ने विद्यार्थीहरू भन्दा धेरै टाढा गएर कुराकानी गर्न पाउनेछन् ।’
विद्यालयमा ६ सय भन्दा बढी विद्यार्थी छन् । विद्यालयमा मोबाइल प्रतिबन्धले अभिभावकहरू पनि खुसी छन् । मोबाइल लिएर विद्यालय आइरहने विद्यार्थीको वार्षिक परिक्षा समेत रद्ध हुने निर्णय भएको छ । अभिभावकहरूले नियमित रुपमा विद्यार्थी विद्यालय पठाउने प्रतिबद्धता जनाएका छन् ।