काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा १७ लाख ९४ हजार श्रमिक मात्र आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषका अनुसार आन्तरिक श्रम बजारमा योगदान गर्ने १९ हजार ७ सय ६७ रोजगारदाताले ५ लाख ४३ हजार श्रमिकलाई मात्रै कोषमा आबद्ध गराएका छन् ।
त्यस्तै वैदेशिक रोजगारमा जाने १२ लाख ५० हजार श्रमिक कोषमा आबद्ध भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत योगदानबाट प्राप्त ७० अर्ब र त्यसको ब्याजसमेत गर्दा हाल कोषको खातामा करिब एक खर्ब रुपैयाँ छ ।
सरकारले वैदेशिक रोजगारमा जाने बेला श्रम स्वीकृति लिने बेला कोषमा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जसका कारण कोषमा आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकभन्दा वैदेशिक रोजगारीमा जानेको आबद्धता बढ्दै गएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार सरकारले ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा वैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायराभन्दा बाहिर छ ।
नेपाल श्रम शक्ति प्रतिवेदन–२०१७/१८ अनुसार अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार, औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार र स्वरोजगारीमा १८ लाख रहेको छ । कोषले ०७५ मंसिर ११ मा लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा सुरुमा औपचारिक क्षेत्रलाई मात्रै समेटेको थियो । तर, २०७९ फागुनदेखि वैदेशिक रोजगारीमा गएका श्रमिक र २०८० वैशाख १ देखि भने उक्त कार्यक्रममा अनौपचारिक एवं स्वरोजगार श्रमिकलाई समेत समेटिएको हो ।
सरकारले अझै सरकारी कोषबाट तलब सेवा सुविधा लिने स्थायी, ज्यालादारी एवं करारमा कार्यरत झन्डै ३० हजार कर्मचारीलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याएको छैन ।