लुम्बिनी । गर्मी बढेसँगै पश्चिम तराईको नेपालगन्ज सहर र यस आसपासका ग्रामीण बस्तीमा तातो हावा चल्न थालेको छ । सुक्खा र तातो हावाले जनजीवन प्रभावित हुन थालेको छ । चिकित्सकले तातो हावा चलेका बेला घरबाहिर हिँड्दा सावधानी अपनाउन आग्रह गरेका छन् । नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।
गर्मीका कारण अघिपछि निकै व्यस्त देखिने सहरका सडक पनि दिउँसो सुनसान हुन थालेका छन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् ।
गर्मी बढ्दैसँगै अत्यधिक तातो हावा चलेको छ । यसले दिमागका नसा तातेर हिटस्टोक हुन सक्छ । जुन अति नै जोखिमयुक्त हुने चिकित्सकहरूकाे भनाइ छ ।
यस्तो बेलामा बेहोस भएर मानिसको मृत्यु नै हुन सक्ने भएकाेले तातो हावामा बाहिर ननिस्कन, छहारी तथा शीतल ठाउँमा बस्न र पानी धेरै पिउन चिकित्सककाे सुझाव छ ।