बेइजिङ । दक्षिण चीन सागरमा चीन र फिलिपिन्स एक पटक फेरि आमने–सामने भएका छन् । दुवै देशले दक्षिण चीन सागरमा एउटा टापुलाई आफ्नो दाबी गरिरहेका छन् । यसका कारण गएको केही वर्षयता दुई देशबिच कयौँ पटक एक अर्कासँग भिडिसकेका छन् ।तर गएको हप्ता चीन र फिलिपिनी जहाज सबीना शोल नजिक एक अर्कासँग ठोक्किएपछि स्थिति थप बिग्रिएको छ ।
यसबारे फिलिपिन्स र चीन दुवैले एक अर्कालाई आफ्नो जहाजलाई ठक्कर दिएको आरोप लगाइरहेका छन् । शोललाई चीनले जियानबिन जिओ र फिलिपिन्सले इस्कोडा शोल भन्दै दाबी गरिरहेका छन् । यो फिलिपिन्सको पश्चिम तटबाट करिब १३८ किमी टाढा छ । चीनभन्दा यो टापु १ हजार १६६ किमी पर छ ।
के भएको थियो सबीना शोलमा ?
अगस्ट १९ मा सबिना शोल नजिक चीन र फिलिपिनी जहाज आपसमा ठोक्किए । यो क्षेत्र तेल र ग्यासको लागि परिचित छ । दुवै देशले धेरै वर्षदेखि शोलमा आफ्नो दाबी गर्दै आएका छन् । फिलिपिन्सको जहाज जानाजानी ठोक्किन आएको चीनको तटरक्षकले बताएको छ । फिलिपिन्सले भने चिनियाँ जहाजहरूले आक्रामक युद्धाभ्यास गरिरहेको भनेको छ । दुई देशबीच आइतबार फेरि टक्कर भएको छ । यस विषयमा फिलिपिन्स र चीनले एकअर्कालाई आरोप लगाए । युरोपेली संघ (ईयू), जापान, अष्ट्रेलिया, दक्षिण कोरिया र बेलायतले यो सम्पूर्ण मामिलामा चीनको आलोचना गरेका छन् ।
४० चिनियाँ जहाजहरूले आफ्नो टेरेसा म्याग्बुआना जहाजमा खाद्यान्न आपूर्ति गर्नबाट आफ्ना दुईवटा जहाजहरूलाई रोकेको फिलिपिन्सले सोमबार भनेको थियो । सबिनामा लामो समयसम्म उपस्थिति कायम राख्न अप्रिलमा टेरेसा म्यागबुआना जहाज पठाएको फिलिपिन्सले बताएको थियो । यो क्षेत्रलाई उसले तेल र ग्यासका लागि निकै महत्त्वपूर्ण मानेको छ । टेरेसा म्यागबुआना फिलिपिन्सले सबिनालाई कब्जा गर्न चाहन्छ भन्ने प्रमाण भएको चीनको दाबी थियो । एजेन्सी