बागमती । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतवार दिउँसो घुससहित पक्राउ गरेको हो।
आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई रु एक लाख ५० हजार नगद र रु चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको बताए। कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उनको भनाइ छ।
अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ।