मधेश । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ । उनको साविक गाउँको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएकोमा उनी सँगै सुतेका थिए । हत्यापश्चात उनीहरू फरार रहेको उनले बताए । घरकै छेउको बाँसघारीबाट पूर्वमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार बरामद भएको छ । मन्त्री रायकै घरमा रहेको सो हतियारबाट उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धानमा जुटेको छ । घटनास्थलमै पुगेका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । ‘गएराति टाउकोमा घरेलु हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या भएको छ,’ उनले भने, ‘अहिले केही भन्न सक्ने अवस्था छैन, हामी सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं ।’
राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, सर्लाहीका पुराना नेता, राप्रपाको संस्थापक र गत महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार, पूर्वमन्त्री रामचन्द्र रायको आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सुनेर स्तब्ध भएको छु। निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब जाँचबुझ गरियोस्, दोषी पत्ता लगाइयोस् र कडा कारबाही गरियोस् ।
मृतक राय तीन दाजुमध्ये माइलो थिए । उनको एक श्रीमती २ छोरा तथा ५ छोरी छन् ।