सुर्खेत । सुर्खेतमा श्रमाधान रोजगार मेला सुरु भएको छ । शनिबारसम्म आयोजना हुने यो मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजना गरिएको हो । देशभरका सातवटै प्रदेशमा आयोजना गरिएको रोजगार मेला सुर्खेतमा दुई दिन सञ्चालन हुँदैछ ।
मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोरप्रसाद अर्यालले रोजगारदाता र श्रमिकबीच जोड्ने पुलको प्रयास गरिएको बताए ।
मन्त्री अर्यालले कर्णाली आफैमा सम्भावना बोकेको कर्णालीलाई भाषणमा मात्रै भनिरहेको बताउँदै अब व्यवहारिक रुपमा प्रवद्र्धन गर्दै सम्वृद्धि हासिल गर्ने अपेक्षा व्यक्त गरे ।
यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मेलाले सीप विकास र युवा जनशक्तिलाई रोजगारी प्रदान गर्ने अपेक्षा लिएको बताए । उनले रोजगार भन्ने वित्तिकै विदेश जाने भन्ने सोचलाई बदल्नुपर्ने भन्दै अहिले विदेश पठाउनेहरु जनताको घर टोलमै पुग्ने गरेको टिप्पणी गरे ।
उनले रोजगारी परिचालनका लागि पहिलो काम शिक्षा प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको औल्याए । सबै पक्षमा सुधारका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत रोजगारीलाई समेटिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।
‘कृषि पर्यटन र खानीमा प्रसस्तै सम्भावना देखिएको छ । नीति कार्यक्रम मार्फत सुरक्षित आप्रवाशन तथा विदेशबाट फर्किएका हरुलाई स्थानीय उत्पादन तथा व्यवसाय प्रवद्र्धनमा जोड दिइएको छ ।’ मुख्यमन्त्री कँडेलले भने, ‘क्षमता अनुसारको रोजगारी सिर्जना गर्न कृषि उद्योग र पर्यटन क्षेत्रमा अवसर प्रदान गर्ने नीति लिइएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित गरी सबै वडाका नागरिकलाई प्रत्यक्ष आवद्ध गराउने नीति लिइएको छ । सीप सिकेको युवालाई सामुहिक रुपमा वस्तु विकास गर्न प्रशिक्षण कक्ष, कोशेली घर, लघुऔद्योगिक ग्राम स्थापना केन्द्र सञ्चालन गरी रोजगार केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ ।’
तस्विरहरूः