काठमाडाैं। सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने उल्लेख गरेकाे छ ।
अर्थमन्त्रीद्वारा प्रस्तुत बजेट तथा कार्यक्रममा रानीजमराकुलरीया सिँचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिँचाइ आयोजना सुरू गरिने उल्लेख गरिएको छ।
सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने बताइएको छ। सिक्टा सिँचाइका लागि १ अर्ब ६० करोड विनियोजन गरिएको छ।
बबई सिँचाइ अयोजना पूर्वी तथा पश्चिममा मूल नहरबाट शाखा विस्तार गरेर थप १ हजार हेक्टरमा सिँचाइ गर्न यसको लागि १ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ।
यस्तै भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवक्स र विद्युतगृहका लागि २ अर्ब विनियोजन भएको बजेट भाषणमा उल्लेख छ।
महाकाली सिँचाइको तेस्रो चरणको मूल नहर र शाखा नहरको काम अगाडि बढाइने मन्त्री पुनले बजेटमार्फत् घोषणा गरेका छन्।
बजेटमा मध्य तराईको ५ जिल्लामा १ लाख २२ हजार हेक्टरमा सिँचाइको लागि सुनकोशी मरिन डाइभर्सन हेडवक्सको लागि ३ अर्ब १२ करोड विनियोजन गरिएको छ।
बागमती सिँचाइ आयोजनाको सिँचाइ प्रणाली पुनस्थापना गरी ४५ हजार ६ सय हेक्टरमा भरपर्दो सिँचाइ पुर्याउने भन्दै ६८ करोड विनियोजन गरिएको छ।
तराई क्षेत्रमा सिँचाइ क्षेत्रमा ४ वटा ५० डीप बोरिङ जडान गरी १५ हजार हेक्टर जमिनमा सिँचाइ विस्तार गरिने यसको लागि ३ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ।