सुर्खेत। स्वदेशमै रोजगारी सिर्जना गरेर सम्वृद्ध नेपाल निर्माणको आशा देखाएका जनप्रतिनिधिहरुले भने युवालाई विदेश पठाउन तयारी थालेका छन् । पछिल्लो समय विदेशिने नेपाली नागरिकको सङ्ख्या बढिरहेका बेला सरकारका संयन्त्रले त्यसलाई रोक्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने हो । तर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही वडाहरुले विदेश पठाउने तयारीका लागि सार्वजनिक सूचना समेत जारी गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १०, १३ र १६ ले भाषा कक्षा सम्बन्धी सूचना जारी गरेका छन् । वडा नं. १३ ले बैशाख १४ गते, वडा नं. १० ले बैशाख १८ गते र वडा नं. १६ ले बैशाख ३० गते सूचना सार्वजनिक गरेका हुन् ।
सार्वजनिक सूचनामा अंग्रेजी, कोरियन र जापनिज भाषा, कम्प्युटर कक्षा र आईएल्स, पिटीई र ओइएफएलका कक्षाहरु सञ्चालन हुने जनाइएको छ । यसका लागि वडा कार्यालयहरु र टेस्ला ईन्ष्टिच्युट प्रालिबीच साझेदारी भएको बताइएको छ । यी कक्षाहरुमा लाग्ने पचास प्रतिसत रकम सहभागीले व्यहोर्नुपर्ने उल्लेख छ ।
आवश्यक किन ठानियो – वडाअध्यक्षहरु के भन्छन्?
वडा नं. १३ का अध्यक्ष दिपेन्द्रराज कोइरालाले ईन्ष्टिच्युटका प्रतिनिधि र केही वडाका नागरिकको आव्हानमा सहजीकरण गरिदिएको बताए । तर, वडाका तर्फबाट लगानी नगरेको दावी गरे ।
‘अधिकांश नागरिक विदेश गएकै छन् । मेरै छोरी पनि अहिले विदेश जानको लागि काठमाडौंमा भाषा कक्षा तयारी गरिरहेकाे छिन् । वडाका विपन्न नागरिकले पनि भाषा कक्षा पढ्न पाउन् भनेर हामीले सहजीकरण गरिदिएका हौं ।’ वडाअध्यक्ष कोइरालाले भने । उनका अनुसार १३ नं. वडाका २० जना सहभागी छनोट भई कक्षा लिईरहेका छन् ।
वडा नं. १० का अध्यक्ष डिलबहादुर रखालले बैदेशिक भाषा सम्बन्धी कक्षा सञ्चालन नभई लोकसेवा तयारी कक्षा र कम्प्युटर कक्षा सञ्चालनको तयारीमा रहेको बताए । तर, उनिद्वारा हस्ताक्षरित सूचना भने आफ्नो स्वीकृति बिनै सार्वजनिक गरिएको दावी गरे ।
‘मैले भाषा सम्बन्धी कक्षा हुन सक्दैन भनेर रोकेको थिएँ । हस्ताक्षरमात्रै गरेर टेबलमा राखेको थिएँ । वडा समितिको बैठकपछि मात्रै सार्वजनिक गर्ने वा नगर्ने भन्ने थियो ।’ वडाअध्यक्ष रखालले भने, ‘म विरामी परेर काठमाडौं आएपछि सार्वजनिक गरिए छ । यसमा मेरो पनि आपत्ती छ ।’
ईन्ष्टिच्युटका प्रतिनिधीले वडाअध्यक्षलाई पारेको परिबन्द
वडाअध्यक्षहरुसँग गरिएको कुराकानी अनुसार ईन्ष्टिच्युटका प्रतिनिधिले उनिहरुलाई परिवन्दमा पारेको बुझिएको छ । ईन्ष्टिच्युटका प्रतिनिधिले भाषा कक्षामा विद्यार्थी र ईन्ष्टिच्युटको लगानी हुने भएपनि वडा कार्यालयले अपनत्व लिनका लागि मात्रै भएपनि समझदारी गरिदिन प्रस्ताव गरेका थिए । सोही प्रस्तावलाई स्वीकार गरिएको वडाअध्यक्षहरुको तर्क छ ।
ईन्ष्टिच्युटले आफ्नो व्यवसायिक प्रयोजनका लागि वडा कार्यालयहरुलाई प्रयोग गर्न खोजेको बुझिन्छ ।