मंगलबार सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धनबीच भएको सहमति बुधबार भत्केको छ ।
मंगलबार केन्द्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति भएको थियो । गठबन्धनको प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओली भने चुनावी प्रचारमा इलाममा थिए ।
ओलीले मंगलबार आफ्नो अनुपस्थितिमा भएको सहमति माने पनि अन्तिममा नेकपा एसका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने सन्देश दिएपछि फेरि गठबन्धनमा समस्या आएको माओवादीका एक प्रदेशसभा सदस्यले बताए ।
ती प्रदेशसभा सदस्यले भने, ‘हिजो एसका दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति प्रदेशमा भएको हो । तर, हिजै रातिबाट एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने भनेपछि समस्या आएको छ । व्यक्ति अर्को हुनुपर्छ भनेर अडान राख्न केन्द्रबाट निर्देशन आए जस्तो छ ।’
एमाले अध्यक्ष ओलीले सोडारीको नाममा मुद्दा भएकाले मुख्यमन्त्रीमा स्वीकार्न नसकिने सन्देशन प्रचण्ड र खनाललाई दिएको स्रोतले बतायो ।
तर, नेकपा एसका सांसद शाही भने सोडारीको विकल्प सोच्न नहुने बताउँछन् । ‘सत्ता गठबन्धनमा नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति भएको छ । हाम्रो दलको नेता नै मुख्यमन्त्री हुन्छ । आफ्नो दलबाट मुख्यमन्त्री कसलाई बनाउने भन्ने अधिकार हाम्रो पार्टीलाई भएकाले यो ठूलो विषय हुनुहुँदैन,’ उनले भने, ‘एमालेले व्यक्तिमा अप्जेक्सन गर्यो भन्ने सुनेका छौँ । तर, हाम्रो पार्टीबाट सोडारी कमरेड नै मुख्यमन्त्री हुनुहुन्छ । त्यसको विकल्प सोच्ने कुरा हुँदैन ।’
सुदूरपश्चिम प्रदेसस्थित एमाले संसदीय दलका नेता राजेन्द्र रावल भने केन्द्रको निर्णय आफूहरूले पालना गर्ने बताउँछन् । ‘म एमालेको कार्यकर्ता हुँ । मेरो शीर्ष नेतृत्वले गरेको निर्णय प्रदेशसभामा कार्यन्वयन गर्छु । अझै दुई दिन बाँकी छ । अहिले नै कुन व्यक्ति भन्नेमा नजाउँ,’ उनले भने ।
गत वर्ष माओवादी केन्द्र र एमाले गठबन्धन बन्दा सुदूरपश्चिम प्रदेश एमालेका भागमा परेको थियो । त्यतिबेला सोडारीले रावलको विकल्पमा अर्को नेतालाई मुख्यमन्त्री स्वीकार्ने तर रावलाई नस्वीकार्ने र उनलाई भोट नहाल्ने भनेर अडान लिएका थिए ।