जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिंन लागेका छन् । विश्वासको मत प्रोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
मधेश सरकारबाट निकालिएको कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासका मत लिन लागेका हुन् । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता यादवले १५ महिनाको अन्तरालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले मुख्यमन्त्री बन्दा, एमालेले र जनमतले समर्थन फिर्ता लिंदा तीनपटक विश्वासको मत लिएका थिए ।
१०७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एक/एक र एक जना स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।