नेपालीहरूलाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा युरोपेली देशहरू पठाइदिने भन्दै ठगी गर्ने एवं विभिन्न ठाउँमा पुर्याएर अलपत्र पार्ने क्रम बढ्न थालेको श्रम र सुरक्षा अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार नेपालीको श्रम गन्तव्य युरोपेली देशहरू तथा क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डलगायत हुन थालेपछि ती देशमा पठाइदिने भन्दै ठगी गर्ने क्रम पनि बढेको हुनसक्छ।
सरकारी विवरणले पछिल्ला वर्षहरूमा युरोपेली देशमा श्रम स्वीकृति लिएर जाने नेपालीको सङ्ख्या बढिरहेको देखाउँछ।
नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरू परम्परागत श्रम गन्तव्य मुलुकमा ठगी हुने क्रम जारी रहेको तर पछिल्ला वर्षमा युरोप र क्यानडामा समेत त्यस्तै समस्या देखा परिरहेको बताउँछन्।
वैदेशिक रोजगार मामिलाका जानकारहरू ठगी तथा मानव तस्करी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँछन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू भने त्यस्ता घटनाबारे आफूहरू जानकार रहेको र रोकथाम सरकारको मुख्य प्राथमिकता भएको दाबी गर्छन्।
कैयौँ ठगीका घटना
नेपाल प्रहरीले सार्वजनिक गर्ने विवरणहरूमा प्राय: दैनिक जस्तो नै वैदेशिक रोजगारीका नाममा ठगी भएका घटनासँग सम्बन्धित अभियुक्तहरू पक्राउ परेको जानकारी उल्लेख भएको पाइन्छ।
गत साता मात्र काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा, पोर्चुगललगायतका देशमा रोजगारीका लागि ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको थियो।
त्यसमध्ये दुई जनाले ‘टप च्वाइस एजुकेशन कन्सल्टेन्सी प्रालि’बाट रोजगारीका लागि क्यानडासहित युरोपेली देशहरू पठाइदिने भन्दै कम्तीमा ५० जनालाई ठगी गरेको र भारतको राजधानी दिल्ली पुर्याएर अलपत्र पारेको प्रहरी अधिकृतहरूको भनाइ छ।
उक्त घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार त्यो नामको एजुकेशन कन्सल्टेन्सी दर्ता भएको पाइएको छैन भने उनीहरूले दलालमार्फत् दिल्ली पुर्याएर कैयौँलाई अलपत्र पारेको पाइएको छ।
साभार बीबीसी न्यूज नेपाली