सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले नै पाउनुपर्ने बताएका छन् । बदलिँदो राजनीतिक समिकरण पछि गठन हुने प्रदेश सरकारहरुमा भागबण्डा हुँदा कर्णालीको नेतृत्व एमालेले नै लिनुपर्ने तर्क दिएका हुन् ।
बिहिबार वीरेन्द्रनगरमा सुरु भएको एमाले सुर्खेतको नवौं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै महासचिव पोखरेलले फेरिएको राजनीतिक समिकरण र सरकारको नेतृत्वका बारेमा बोलेका थिए ।
‘कर्णालीमा संसदको ठूलो पार्टीको नेतृत्व लिने कुरामा राष्ट्रिय राजनीति खण्डित भइसकेको छ । केन्द्रीय सरकारलाई स्थायित्व दिने जिम्मेवारी एमालेको हो भन्ने छ । तर, प्रदेशमा एमालेका नेता कार्यकर्ताले नेतृत्व पाउनुपर्छ भन्ने कुरालाई माओवादीले स्वीकार गर्नुपर्छ’ उनले भने । ‘कर्णालीका माओवादीले आफै नेतृत्व सुम्पिनुपर्छ भन्ने धारणा बनाईराख्न आवश्यक छ ।’
उनले प्रदेशको राजनीतिक समीकरणका लागि काठमाडौ धाइराख्न नपर्ने बताए ।
अस्थिरताको दोषी नेपाली कांग्रेस भएको टिप्पणी गरे । वामपन्थी आन्दोलन प्रतिको चिन्ता र सुशासनका प्रश्नमा कांग्रेससँगको गठबन्धन सहज बन्न सकेन भन्ने प्रधानमन्त्रीले आत्मालोचना गरेपछि एमाले सम्बद्ध नयाँ समीकरण बनेको बताए । अहिलेको समिकरणलाई निर्वाचन सम्मै लिने संकेत जनाए ।
स्वार्थ आधारित गठबन्धन, मोर्चाका कारणले जनताको अभिमत प्रस्ट हुन नसकेको बताए । जनताले सर्वाधिक लोकप्रिय बनाएपनि पार्टीले देशको नेतृत्व लिन पाएको छैन । यसर्थ, लोकतन्त्रमा जनताको रोजाईले शासन चलाउन नपाएको स्पष्ट पारे ।
घेराबन्दी र गठबन्धन त्यसको कारण भएको उनको बुझाई छ । नेपालको राजनीतिलाई गठबन्धनको माध्यमबाट होइन, नीतिको माध्यमबाट डोर्याउन जरुरी भएको बताउँदै नीतिगत बहस हुन नसकेको जनाए ।
विगतको कामको समीक्षा गर्ने र आगामी दिनका लागि व्यवस्थित कार्ययोजना तर्जुमा गर्ने । त्यसका लागि सक्षम र एकताबद्ध नेतृत्व चयन गर्ने अभिभारा हुने बताए ।
जिल्लाको समग्र विकासको अवधारणा पनि प्रस्तुत हुने अपेक्षा गरे । अधिवेशनमा नीति भन्दा नेतृत्वमा ध्यान केन्द्रित हुने गरेको भन्दै अहिलेको अधिवेशनले त्यसतर्फ छलफल हुने विश्वास व्यक्त गरे ।