कालीकोट । वनमा लागेको आगोमा परेर बाबु छोरी घाइते भएका छन्। शुक्रबार दिउँसो वनमा लागेको आगोले ५० वर्षीय नन्दलाल चौलागाईं र उनको ११ वर्षीया छोरी हेमन्ती जलेर गम्भीर घाइते भएको स्थानीय वडा नम्बर ५ निवासी खडानन्द चौलागाईंले बताए।
जिल्लाको खाँडाचक्र नगरपालिका-५ को नवदुर्गा सामुदायिक वनमा दिउँसो लागेको आगोमा परि बाख्रा चराउन गएका बाबु छोरी जलेर घाइते भएका हुन्। घाइते बाबु छोरीलाई उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी पोषण थापाले बताए।
आगोमा परी घाइते भएका बाबु छोरीलाई उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा उपचार सम्भव नभएपछि उनीहरूलाई जुम्ला रिफर गरिएको जिल्ला अस्पताल कालीकोटका कार्यालय प्रमुख डा. संकेत विश्वकर्माले बताए। दिउँसो वनमा बाख्रा चराउन गएका बेला लागेको आगोले १५ वटा बाख्रा जलेर मरेका छन्। गाउँतिर आउँदै गरेको आगोलाई नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन्।