कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिने अर्थात् तेस्रो त्रैमासिक समीक्षा गरेको छ । सोमबार गरिएको समीक्षाअनुसार सरकार अझै द्रुत गतिका अग्रसर हुन नसकेको निष्कर्ष निकालिएको छ ।
अर्धवार्षिक समीक्षामा विकास बजेट कमजोर रहेको र मन्त्रीहरूले ०८१ साउनमा गरेको प्रतिबद्धता अनुसार काम नगरेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएका थिए । तर तेस्रो त्रैमासिक समीक्षामा आउँदासम्म पनि मन्त्रीहरूले प्रतिबद्धता अनुसार काम गर्न नसकेको कुरा समीक्षा बैठकमा उठ्यो ।
कँडेलले प्रतिपक्षमा हुँदादेखि नै प्रमुखताका साथ आफूले उठाएको विषय नै विकास बजेट कार्यान्वयन भए पनि अपेक्षित रिजल्ट आउन नसकेको कुरा बैठकमा राखे । उनले बैठकमा भने—प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । लक्ष्यअनुसार प्रगति हासिल किन हुन सकेन ?
कँडेलले मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै भने, ‘हिजोको भन्दा जनशक्ति लगायत सबै कुराहरू पर्याप्त हुँदा पनि पर्याप्त रिजल्ट किन आएन ? त्यसको कारणहरू के हो सचिवज्यूहरू !’ चालु आर्थिक वर्षमा प्रदेश सरकारसँग १८ अर्ब ७५ करोड बढी विकास बजेट छ । तर तेस्रो त्रैमासिक समीक्षासम्म आउँदा जम्मा २० प्रतिशत अर्थात् ३ अर्ब ९३ करोड २४ लाख ७६ हजार ९७२ रुपैयाँ मात्र कार्यान्वयनमा आएको छ ।
अझै सरकारसँग १४ अर्ब बराबर विकास बजेट मौज्दात छ । मुख्यमन्त्री कँडेल विगतमा आफूले नै प्रमुखताका साथ उठाउँदै आएको विषयमा सोचेअनुरुप रिजल्ट नआउँदा चिन्तित छन् । मुख्यमन्त्री भएपछि पनि कँडेलको प्राथमिकताको विषय नै विकास बजेट कार्यान्वयनमा सुधार नै थियो । तर सोचेअनुरुप हुन नसक्दा उनी अहिले गम्भीर भएका छन् ।
‘विगतमा जनशक्ति पर्याप्त थिएन भनरे काम रोकिन्थे, अहिले पर्याप्त जनशक्ति पनि छ तर किन रिजल्ट निस्कन सकेन,’ कँडेलले मन्त्री र सचिवहरूमाथि औंला ठड्याउँदै भने, ‘अब समीक्षा गर्नैपर्छ ।’
सुशासन र बजेट कार्यान्वयनमा अथक प्रयास गरेपनि सन्तुष्टि मिल्ने गरी प्रगति हासिल गर्न नसकिएको कँडेलले बताए । यसतर्फ मन्त्री तथा सचिवहरूको ध्यानाकर्षण पनि गराए । भने, ‘हामीले साउनदेखि जुन हिसाबले मेहनत गरिरहेका छौँ तर मेहनतको प्रतिफल प्राप्त गर्न सकेनौँ ।’ आफना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय कामहरू अलपत्र परेको कँडेलले बताए । ‘सरकारी काम भएपनि ताकेत गर्न नछोड्नुहोस्,’ उनले थपे ।
समीक्षा बैठकमा सबै मन्त्रीहरूकाे स्प्रीड कमजाेर रहेकाे निष्कर्ष निकािलएकाे छ । सबैकाे गति यस्तै छ असार सम्म गत बर्षभन्दा बढी बजेट कार्यान्वयनमा अाउछ तर मुख्यमन्त्त्त्री निकट स्राेत भन्छ कार्य सम्पादन जहिले यस्तै छ ।
कँडेलले पूँजीगत बजेट कार्यान्वयनको गति बढाउन मन्त्री तथा सचिवहरूलाई कडा निर्देशन नै दिए । ‘बजेट कार्यान्वयनमा बाँकी अवधि महत्त्वपूर्ण हुने भएकोले बजेट कार्यान्वयनको स्प्रीड बढाउनुहोस्,’ उनले थपे, ‘लक्ष्य ८० प्रतिशत पुर्याउने छ ।’ साउनमै कँडेलले मन्त्री र सचिवहरूलाई ११ बुँदे प्रतिबद्धता जनाउन लगाउँदै ‘औँला ठडिन’ नदिने गरी काम गर्न निर्देशन दिएका थिए । तर मन्त्रीहरूले नै त्यसको अवज्ञा गरे । लक्ष्य अनुसार चालु आर्थिक वर्षमा कार्यान्वयनमा जानुपर्ने आयोजनाहरू जान सकेनन् ।