काठमाण्डूका केही क्षेत्रमा लगाइएको कर्फ्यू शनिवार बिहानबाट स्थगन समेत गरिएको अधिकारीहरूले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एउटा सूचना जारी गर्दै पछिल्लो निर्णयबारे जानकारी गराएका हुन्।
यसअघि शुक्रवार दिउँसोदेखि राति १० बजेसम्मलाई लगाइएको कर्फ्यू शनिवार बिहान ७ बजेसम्म थप गरिएको थियो।
गौशालादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वर हुँदै जडिबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यू लगाइएको थियो।
ती क्षेत्रमा आवतजावत गर्न, कुनै किसिमको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न प्रतिबन्ध लगाइएको थियो।
“सहज होओस् भन्ने हिसाबले स्थगन गरिएको हो। यसको अर्थ यो होइन कि सुरक्षामा कुनै किसिमको सम्झौता हुन्छ। यो सचेततापूर्वक लिइएको निर्णय हो,” सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने।
निगरानी र मूल्याङ्कन
शुक्रवार भएका हिंसात्मक घटनापछि सुरक्षा सतर्कता बढाइएको स्थानीय प्रशासन र प्रहरी अधिकारीहरूले बताएका छन्।
“सुरक्षा निकायहरूबीच समन्वय गरी निगरानी राख्ने र प्रदर्शनका क्रममा भएका क्षतिको मूल्याङ्कन गर्ने काम भइरहेको छ,” सहायक प्रजिअ पौडेलले थपे।
उनका अनुसार थप सुरक्षा रणनीति बनाउने हिसाबले जिल्ला सुरक्षा समन्वय समितिको बैठक एक चरण सकिएको छ।
प्रहरीका अनुसार शुक्रवारको प्रदर्शनका क्रममा नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरीका २४ जना घाइते भएका छन्।
प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
सातवटा सरकारी र नौवटा निजी सवारीसाधनमा क्षति पुर्याइएको प्रहरीले जनाएको छ।
पौडेलका अनुसार शुक्रवार प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी गरिएको, आठवटा कार्यालय र संस्थामा तोडफोड भएको छ भने एउटा व्यापारिक केन्द्रमा लुटपाट भएको छ।
“मुचुल्काको काम हुँदै छ, कति रकम बराबरको क्षति भएको छ भन्ने कुराको मूल्याङ्कन भइसकेको छैन,” सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने।
शुक्रवार भएका प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान समेत गएको थियो
अनुसन्धानका लागि भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा महामन्त्री धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित पाँच जनालाई पक्राउ गरेको छ।
उनीहरूलाई रिहा नगरिएको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
प्रहरी के भन्छ ?
प्रहरीले काठमाण्डू उपत्यकामा शनिवार बिहानदेखि स्थिति सामान्य रहेको जनाएको छ।
“तथापि कुनै अप्रिय घटना नहोओस् भनेर सुरक्षाकर्मी तैनाथ गरेका छौँ,” काठमाण्डौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले भने।
प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र लुटपाट गरेको प्रहरीले बताएको छ।
तर राजसंस्था पुनर्स्थापना पक्षधरहरूले गठन गरेको संयुक्त जनआन्दोलन समितिले “आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ज्यादती गरेको” आरोप लगाएको छ।
समिति के भन्छ ?
समितिका संयोजक नवराज सुवेदीले शनिवार एउटा विज्ञप्ति जारी गर्दै “प्रहरी दमनका कारण अप्रिय घटना हुन पुगेको” दाबी गरेका छन्।
“केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित रूपमा गराइएको घुसपैठ र अनपेक्षित प्रहरी दमनका कारण सभा बिथोलियो,” विज्ञप्तिमा भनिएको छ।
उनले आफूहरूलाई नजरबन्दमा रखिएको बताउँदै आफूहरूको आन्दोलन जारी रहेको समेत उल्लेख गरेका छन्।
“आन्दोनलमा भएका कुनै पनि घटनाम संलग्न नभएका हाम्रा जनकमान्डर दुर्गा प्रसाई लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रमपश्चात् जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र लगायतलाई पक्राउ गर्ने र मलाई नजरबन्दमा राख्ने कार्य भएको छ।”