सुर्खेत। प्रादेशिक आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको छ। संघीय सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकद्वारा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरिएको हो। विपद्जन्य घटनाहरु भएमा तत्काल उद्दार तथा राहत सामग्री राख्ने गोदामघर अब प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले व्यवस्थापन सञ्चालन गर्नेछ। यसअघि संघीय सरकार मातहत रहेको थियो।
पश्चिम नेपाल जोखिमको भूगोलमा रहेको गृहमन्त्री लेखकले बताए। भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहर जस्ता विविध किसिमका जोखिममा रहेको बताउँदै यसका लागि तीन तहका सरकारहरु तयारी अवस्थामा रहन आवश्यक रहेको बताए।
पश्चिम नेपालमा भूकम्पबाट भएको क्षति पुनर्निर्माण र पुनर्स्थापना गर्ने कार्य भएको गृह मन्त्री लेखकले बताए। त्यस अनुसार अछाम र जाजरकोटमा पुनर्निर्माण इकाई कार्यालय स्थापना गरी द्रुत गतिबाट काम गर्न लागिएको जानकारी दिए। आपातकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण हुनु संघीयता कार्यान्वयनका विषय बनेको जिकिर गरे।
मुख्यमन्त्री कँडेलले गोदामघर हस्तान्तरण गरेको प्रति प्रदेश सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे। तर, यो दिनका लागि सात वर्ष लागेको बताए। भौतिक संरचना हस्तान्तरण सँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको बताए।
विपद् जोखिममा रहेको कर्णाली प्रदेशले विभिन्न किसिमका सुरक्षा कार्यक्रम अपनाए पनि विविध जटिलताहरू सँग समान गर्नुपरेको बताए। जग्गा व्यवस्थापनको अधिकार प्रदेशले नपाउँदा प्रदेशले आवश्यक संरचना बनाउन नसकिरहेको जानकारी दिए।