काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ९एन-एएनएच जहाजको अगाडिको पांग्रा उड्ने क्रममा जनकपुरमै खसेको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार पांग्रा खसेकोबारे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पत्ता लागेको थियो।
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सो बिहीबार अपराह्न ४:४५ बजे जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो। पांग्रा खसेको न त पाइलटलाई जानकारी थियो, न त उडानका क्रममा कुनै असामान्य गतिविधि महसुस गरिएको थियो।
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेपछि नियमित पोस्ट-फ्लाइट जाँचका क्रममा नोज ल्याण्डिङ गियर (अगाडिको पांग्रा) हराएको देखिएपछि यसको खोजी थालिएको थियो। प्रवक्ता भुलका अनुसार जनकपुर विमानस्थलमा सम्पर्क गर्दा जहाज उड्ने क्रममा नै पांग्रा खसेको पुष्टि भएको हो।
विमानमा ६२ जना यात्रु सवार थिए। सबै सकुशल रहेका छन्। घटनापछि जहाजलाई ग्राउन्डिङ गरिएको छ भने नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान अघि बढाएको छ।