काठमाडौं । अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो ।
चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा ३ सैनिक बोकेको हेलिकप्टरसँग ठोकिएको हो ।
दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको वासिङटन डिसीका आगलागी तथा आपत्कालिन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । उनका अनुसार घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएको बताएका छन् ।
डोनेलीले उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने बताएको सीबीएस न्यूजले जनाएको छ । उद्धार कार्यमा करिब ३ सय आपत्कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाएको छ ।
विमान दुर्घटनामा दुई टुक्रा परेको र नदीमा खसेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर उत्तानो परेर नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । तालिमका लागि प्रयोग भएको सेनाको ुब्ल्याक हकु हेलिकप्टरमा तीन सैनिक रहेको जनाइएको छ ।
बीबीसीका अनुसा उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । अनुसन्धानमा संघीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाइएको छ ।
दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ ।