पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका बेला गत २९ मंसिरमा सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश शंकरबहादुर राईको इजलासले डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।
यसअघि ७ पुसमा पक्राउ गरी त्यसको भोलिपल्ट पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो । प्रहरी अनुसन्धानका क्रममा तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गर्दै डा. भुसाललाई अदालत उपस्थित गराइएको थियो ।
विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पुर्याउने, गोपनीयता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामा प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग भुसालमाथि लगाइएको थियो ।
हिरासतको फोटो सार्वजनिक भएको यो पहिलो पटक पनि भएकाले अन्त यस्तो नजीर नहुँदा पनि अन्जान भएकाले एक पटक माफी हुनुपर्ने उनीतर्फका अधिवक्ता विमल लामिछाने र मनोज घर्तीमगरले बहस गरेका थिए । सरकारी वकिलको तर्फबाट बहस गरेका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको व्यक्तिको फोटो सार्वजनिक गर्नु पनि अवराधै भएको र यसले सुरक्षा संयन्त्रमा असर पारेकाले पनि कारबाही गर्नुपर्ने दाबी गरेका थिए ।
भुसाल २९ मंसिरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न पुगेका थिए । रविसँग व्यक्तिगत भेटघाट र स्वास्थ्य सल्लाह दिन भनेर गएका भुसालले सिसी टिभी मनिटरबाट फोटो खिचेका थिए । त्यही फोटोलाई राखेर भुसालले रविको पक्षमा चितवनमा उपस्थित हुन आह्वान गर्दै लेखेका थिए । त्यो पोस्ट ३ पुसमा भाइरल भएपछि सबैको ध्यान केन्द्रित भएको थियो भने प्रहरी प्रशासनको पनि आलोचना बढेको थियो । भुसालले आफूले त्यो फोटो अञ्जानमा खिचेको त्योबेला पनि बताएका थिए ।
‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौशला प्रदान गर्न गको थिएँ भन्ने स्टाटस लेखेर पोष्ट गरेको हुँ,’ उनले बयानमा पनि भनेका थिए । उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अदालतले भनेको र केही तथ्य प्रमाण भेटिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ थियो ।