कोशी । उच्च अदालत पाटनका न्यायाधीश सवार सरकारी नम्बर प्लेटको कार सुनसरीमा दुर्घटना भएको छ ।
न्यायाधीश नारायणप्रसाद रेग्मी सवार बीएबी ७१४६ नम्बरको कार मंगलबार साँझ मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाह खण्डको जंगलमा दुर्घटना भएको हो । दुर्घटनामा परी ५४ वर्षीय न्यायाधीश रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् । खनाल नाताले रेग्मीका भिनाजु पर्छन् ।
दुर्घटनामा घाइते भएका दुवै जनाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको कार ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते रेग्मीको अवस्था मध्यम छ भने खनालको अवस्था गम्भीर छ । कारमा चालकसहित ५ जना सवार थिए । अन्यको अवस्था सामान्य छ । काठमाडौंबाट विराटनगर आउँदै गरेको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । न्यायाधीश रेग्मीको घर विराटनगर महानगरपालिका– ४ मा पर्छ ।