काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि जन्ममिति फेरवदल गरी पदको दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिलवालमाथि नागरिकताको विवरण पटकपटक हेरफेर गरी व्यक्तिगत लाभ लिएको र राहदानीमा जालझेल गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार उनले २०३२ साल फागुन २४ मा नागरिकताको प्रमाणपत्र लिएका थिए। पछि, २०६६ सालमा प्रतिलिपि लिँदा जन्ममिति २२ कात्तिक २०१६ भनी उल्लेख गरे।
तर, निजामती सेवामा प्रवेश गर्दा उनले १५ साउन २०१५ जन्ममिति घोषणा गरेका थिए। सोही जन्ममिति त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र र सिटरोलमा समेत उल्लेख थियो।
त्यही जन्ममिति आधारमा १५ साउन २०७३ मा उनले अनिवार्य अवकाश लिएका थिए। तर, बीमा समितिको अध्यक्षमा नियुक्त भएपछि उनले जन्ममितिमा फेरबदल गर्दै २४ कात्तिक २०१८ मा जन्म भएको दाबी गरे। सोही दाबीले उनलाई ६५ वर्षपछि पनि पदमा रहने अवसर दियो।
सार्वजनिक पदमा रहेर उमेर ढाँटेको, कूटनीतिक राहदानी प्राप्त गरेको, र पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको भन्दै अख्तियारले उनीमाथि ३६ लाख ६२ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
सिलवालले १५ साउन २०८० पछि लिएको पारिश्रमिक र अन्य सुविधालाई भ्रष्टाचारको रूपमा गणना गरिएको छ। विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएसँगै सिलवालमाथि जन्ममिति विवाद र पदको दुरुपयोगबारे थप कानूनी कारबाही अघि बढ्नेछ।