कर्णाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडी नियन्त्रणमा लिएको छ। विगत ८ वर्षदेखि भे १ ज १८४ नम्बरको सरकारी प्लेट राखेर अवैध रुपमा चलाईरहेको गाडी सुर्खेत ट्राफिकले नियन्त्रणमा लिएको हो।
यातायातको कुनै पनि कागजात नभएको अवैध गाडीलाई सरकारी नम्बर प्लेट प्रयोग अस्पताल प्रमुख डाक्टरले चढ्दै आएका थिए। कागजपत्र नभएको गाडी अस्पताल जस्तो संवेदनशिन कार्यालयले चलाउँदा विगतका प्रहरी प्रशासन रमिते बनेको थियो।
उक्त गाडीको कलर परिवर्तन गरेर पछिल्लो वर्षहरूमा अस्पतालका प्रमुखले चढ्ने गरेका थिए। बिचमा सुर्खेतमा ट्राफिकले गाडी नियन्त्रणमा लिए पनि डाक्टरले छुटाएका थिए। अहिले भने प्रहरीले नियन्त्रणमा लिएको गाडी यातायात कार्यालय पठाएको छ।
आफूहरूलाई अवैध गाडी भएको सूचना आए लगत्तै गाडीलाई नियन्त्रणमा लिई यातायात कार्यालयमा पत्रसहित पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए।
‘जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडीको दर्ता, नवीकरण कुनै पनि कागजात छैन’ उनले भने, गाडी आवश्यक कागजपत्र नहुँदा यातायात कार्यालयमा पठाएका छौँ।’