काठमाडाैं। देशैभरि परेको मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म कैयौँको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यो अवधिमा १५ जना घाइते र एकजना बेपत्ता भएका छन् ।
साथै, मन्त्रालयले जनाए अनुसार १३ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार गत सातादेखि जारी मनसुनी वर्षा अझै केही दिनसम्म कायम रहने देखिएको छ । देशैभरि नदी तथा खोलाहरूमा पानीको सतह बढेर उच्च जोखिम अवस्थामा पुगेको छ ।
नेपालमा यो वर्ष जुन १० मा भित्रिएको मनसुनसँग सम्बन्धित चार सय भन्दा धेरै विपद्का घटना देखा परेका छन् । नेपालका ६१ जिल्ला ती घटनाबाट प्रभावित भएको सरकारी विवरण छ ।
मनुसन भित्रिएदेखिका घटनामा यस वर्ष ४३ जनाको मृत्यु भएको गृह मन्त्रालयको विवरण छ । सरकारी विवरणमा यस वर्ष ८ करोड भन्दा बढिको क्षति पुगेको छ ।
आइतवार दिउँसो ३ बजे महाशाखाले जारी गरेको विशेष बुलेटिनमा सोमवारदेखि मनसुनको “न्यून चापीय रेखा“ नेपालबाट दक्षिणतर्फ सर्न थाल्ने जनाइएको छ ।
नेपालमा मनसुनको सकृयतामा कमी आई भोलि (सोमवार) देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको बुलेटिन मार्फत जनाइएको छ ।