सुर्खेत । स्वास्थ्य बीमा कार्यक्रम केही झन्झट भएपनि उपचारमा सहज हुने गरेको बीमितहरुले जनाएका छन् । बीमा कार्यक्रमले उपचारमा सहज बनाउनुका साथै स्वास्थ्य संस्थामा समेत सेवाग्राहीको भीड बढ्न थालेको छ । पहिलेको तुलनामा अहिले नियमित स्वास्थ्य जाँच गराउनेको संख्या बढेको अधिकारीहरु बताउछन् ।
प्रदेश अस्पताल पछिको दोस्रो तहको अस्पतालका रुपमा सुर्खेतको मेहेलकुना अस्पताल लिने गरिन्छ । ५० शय्या अस्पताल भनिएपनि अहिले अस्पतालले २५ शय्या बाटै सेवा प्रदान गरिरहेको छ ।
अस्पताल रेकर्ड अनुसार आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै २५ हजार बढीले सेवा लिएका छन् । तीमध्ये करिब ७० प्रतिशत बिरामीले बीमा कार्यक्रम मार्फत उपचार गराएको हेल्थ असिस्टेन्ट प्रमोद जैसीले जानकारी दिए ।
सोमबार अस्पतालमा आयोजित कर्णाली प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयन प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाईमा सहभागी बीमितले स्वास्थ्य उपचारमा सहज भएपनि प्रकृया झन्झटिलो भएको बताए । उनिहरुले दिर्घरोगी पनि लाईन लागेर औषधी लिनुपर्दा पीडा महसुस भएको जानकारी दिए । पहिलो पैसा लाग्दैथ्यो अहिले पैसा लिने गर्दा नागरिकमा अप्ठ्यारो भईरहेको उनिहरुको गुनासो थियो ।
बीमा गराउँदा कागजी प्रकृया मिलाउन नसक्ने व्यक्तिहरु बढी आउने हुनाले उनिहरुको सहजिकरणका लागि अस्पतालहरुमा बीमा सहजकर्ताको व्यवस्था मिलाउनुपर्ने सुझाव दिन्छन् ।
अस्पतालको जनशक्ति र पूर्वाधार अवस्थाका कारण सहज तरिकाले सेवा प्रवाह गर्न नसकिएको अस्पतालले जनाएको छ । नेटवर्किङ सिस्टममा सर्भर नचल्दा बीमितको रेकर्ड हेर्न नसकिने र जसबाट ढिलाई हुने गरेको जनाइएको छ ।
तुलसी शर्मा महिला स्वयम्सेवक पनि हुन् । उनले परिवारका आठ जनाले नियमित बीमा सेवा लिने गरेको बताईन् । उनले बीमाकर्ताहरुको स्वभावका कारण नागरिकले दुःख पाएको बताईन् । शर्माले स्वयम्सेवकहरुलाई नै बीमाकर्ता नियुक्त गर्दा सहज हुने सुझाव दिईन् ।
रिअल टाईम भुक्तानीले गर्दा दावी प्रकृयामा अवरोध हुने जसले गर्दा अस्पताललाई नोक्सान हुने क्रम बढेको हेल्थ असिस्टेन्ट जैसीले बताए । उनका अनुसार बीमितको तथ्याङ्क अस्पतालबाट छुट्टै हेर्न नमिल्नु । बीमा अभिकर्ताले आफ्नो कार्य विवरण अनुसार काम नगर्दा बीमितले सहज सेवा नपाउनु र बीमा दावीकर्तालाई तालिम तथा पुनर्ताजगीको कार्यक्रमको व्यवस्था नगरिनु जस्ता प्रमुख चुनौतीहरु रहेको उनले जानकारी दिए ।
कार्यक्रममा अस्पताल प्रमुख डा. सोजन सापकोटाले अस्पताल व्यवस्थापन र सञ्चालनमा मेहनत गर्दापनि स्वास्थ्यकर्मीले ढुक्कले काम गर्ने वातावरण नभएको बताए । उनले असुरक्षाका घटनाहरु सुनाउँदै ढुक्कले काम गर्ने वातावरण बनाईदिन आग्रह गरे ।
कार्यक्रममा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले बीमा कार्यान्वयनको प्रभावकारिताका विषयमा समितिले अध्ययन गरिरहेको जानकारी गराए । उनले यसकिसिमका छलफलबाट उठेका निश्कर्षका आधारमा सरकारलाई जिम्मेवार बनाउनतर्फ लागिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सामाजिक विकास समितिका सदस्यहरु, मेहेलकुना अस्पतालस्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।