सुर्खेत । कर्णाली प्रदेशको जुम्ला स्याउको भण्डार हो । अन्य जिल्लाहरुको तुलनामा यहाँ अधिकतम् स्याउ फल्छ । आम्दानीका प्रमुख स्रोतहरु मध्ये स्याउ पनि हो । तर, यसै क्षेत्रको एक गाउँमा भने एक हजार बढी स्याउका बुटा (विरुवा) नष्ट गरिएको छ ।
सिंजा गाउँपालिका वडा नं. ६ भाडगाउँमा फल्दै गरेको एक हजार बढी स्याउका बुटा काटेर नष्ट गरिएको हो । सानीपातल काफलबारी सामुदायिक वनमा लगाइएका ती बुटाहरु काट्नुपरेको हो ।
सामुदायिक वनमा व्यक्तिहरुले स्याउ फलाउन थालेपछि विरुवा काट्नुपरेको वडाध्यक्ष लालबहादुर बुढाले जानकारी दिए । वनको करिब ५ हेक्टर क्षेत्रफलमा त्यहाँस्थित भाँडगाउँका ९ जना र जोडुगाउँका ४ जना कृषक मिलेर १३ जनाले स्याउ खेती गरेका थिए ।
वनको कुल १० हेक्टर क्षेत्रफल मध्य ५ हेक्टरमा स्याउका विरुवा रोपिएको थियो । भने ५ हेक्टर जमिनको घेराबार गरी व्यक्तिगत प्रयोजन गरेका थिए ।
अतिक्रण गरिएको जग्गा २०७१ सालदेखि नै जग्गा खाली गराउन प्रयास भएपनि अटेर गरेपछि विषय अदालतसम्म पुगेको थियो । वडाध्यक्ष बुढाका अनुसार अघिल्लो वर्षमात्रै जग्गा खाली गराउने अदालतको आदेश थियो ।
जंगलको क्षेत्रमा लगाइएका स्याउका विरुवा काटेरै फाल्नुपर्ने किन? भन्ने जिज्ञासामा वडाअध्यक्ष बुढाले उनिहरुले पटक–पटक गरेको अटेरीको कारण भएको बताए ।
स्याउका बुटा राखेर घेरबार गर्ने र सामुदायिक वनको आम्दानीको स्रोत बनाउने भन्नेबारे सरोकारवालाहरुबीच तयारी थियो । तरपनि, ‘उनिहरुले स्याउ बाहेक अरु खेती पनि गरेका थिए । समुदायका मान्छेले यतिकै छोड्दा उनिहरुको अतिक्रमण कायमै रहन्छ भन्न थालेपनि काट्नुपरेको हो ।’ वडाअध्यक्ष बुढाले भने, ‘यतिकै छोड्दा अरु घटना हुने जस्तो पनि लाग्यो ।’
जग्गा खाली गराउनेमा डिभिजन वन कार्यालय, सिंजा गाउँपालिका कार्यालय, वडा कार्यालय, प्रशासन लगायत सबैको समन्वय बाटै भएको उनले जानकारी दिए ।
उक्त सामुदायिक वन अन्र्तगत करित १७५ घरधुरी रहेका छन् । यसक्षेत्रमा कम्तिमा ५०–६० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ भने वार्षिक करोड बराबरको आम्दानी हुने गरेको वडा अध्यक्ष बुढाले बताए ।