रुकुम पश्चिम। रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ स्थित इन्द्रज्योती आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका मैत्रीपूर्ण वातावरणमा पढ्न पाएका छैनन् । भूकम्पकाे क्षतिबाट जाेगाएर छानामुनी पढिरहेका विद्यार्थी अहिले रुखको छहारीमा छन् । केही दिन अगाडी आएको हावाहुरीले विद्यालयको छाना उडाएपछि विद्यार्थी छहारीमा पढ्न बाध्य भएका हुन् ।
‘हामी सबै साथीहरु यहि रुखमुनि बसेर पढ्छौ’, कक्षा १ मा अध्ययनरत रितु चनेलले भनिन्, ‘पानी पर्दा भने पढाई हुँदैन । दाैडिएर घर गैहाल्छम् ।’
बाल शिक्षादेखि कक्षा २ सम्म पढाई हुने यस विद्यालयमा ४० जना छात्रा र ३५ जना छात्र रहेका छन् ।
अहिले उनिहरु विद्यालय भवन नजिकैको सल्लाको रुखको फेदमा बसेर पढ्ने गरेका छन् । गर्मीयाम भएकाले उनिहरु रुखका छायासँगै पढ्ने स्थान पनि सार्ने गरेका छन् । रुखले घामको गर्मीबाट जोगाएपनि पानी पर्ने बित्तिकै कापि किताब बोकेर नजिकैका गाउँलेको घरमा ओत लाग्ने गरेका छन् ।
कक्षा २ मा अध्ययनरत माइकल बिष्टले स्कुलमा भवन नहुँदा कहिले खुला चौरमा त कहिले रुखको छहारीमा बसेर पढाई हुने गरेको बताए ।
गत चैत १७ गतेको हावाहुरीले विद्यालयको छाना उडाएको थियो । विद्यालयको तीन कोठे भवन डेढ महिनासम्म पनि मर्मत हुन सकेको छैन । थप लथालिङ बनेको छ । गत कार्तिक १७ गतेको भूकम्पबाट जोगिएको विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको हो ।
विद्यालयका प्राधानाध्यापक कल्पना बि.एम. बिष्टले घाम लागेको बेला रुखको छहारी खोज्दै पढाउनुपर्ने बाध्यता रहेको बताईन् । उनका अनुसार दिनमा तीन चार पटक रुखको छायासँगै कक्षा सार्नुपर्ने हुन्छ । अब वर्षा लाग्न थालेकोले कहाँ, कसरी पढाउने भन्ने चिन्ता थपिएको उनले सुनाईन् ।
विष्टका अनुसार नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै विद्यालय नजिकैको रुखको छायामा राखेर बालबालिकाको पढाई भईरहेको छ ।
टहरामा कार्यालय
विद्यालयको भवन नै लथालिङ्ग भएपछि कार्यालय भवन स्थानीयको टहरामा राखिएको छ । प्रशासनिक कार्यसम्पादन, कागजातहरुको सुरक्षा, हाजिरी रजिष्टर लगायतका महत्वपूर्ण सामानहरु स्थानीयको टहरामा थन्काईएको प्रधानाध्यापक बिष्टले जानकारी दिईन्
विद्यालयको भवन मर्मत तथा निर्माणको लागि कुनैपनि निकायबाट चासो नभएको गुनासो उनिहरुको छ । विद्यालयको छानो उडाएको अवस्थासहितको फोटो र आवश्यक कागजातसहित वडा कार्यालय, नगरपालिका, शिक्षा कार्यालय, सामाजिक विकास कार्यालयमा निवेदन पेश गरिएको छ । तर हालसम्म पनि कहिकतैबाट माग सुनुवाई हुन सकेको छैन ।
यस बिषयमा आठविसकोट नगरपालिकाका शिक्षा अधिकृत ईन्द्रबहादुर बिष्टले विद्यालयको छाना मर्मतको लागि आवश्यक सामाग्री व्यवस्था गरिसकेको बताए । प्रक्रियागत रुपमा केहि ढिलाई हुन पुगेको जानकारी दिए ।
तर, उनि अब चाँडै नै बालबालिकाहरुलाई भवनकै कक्षाकोठामा राखेर पढाई सुचारु हुने विश्वास राख्छन् ।