काेशी। कोशी प्रदेश सरकारका लागि नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वमा सरकार गठनका लागि दाबी पेस भएको छ। बिहीबार प्रदेश प्रमुखको कार्यालयमा कार्कीले ५२ प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेस गरेका हुन्।
बुधबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन्।
मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को ५ अनुसार सरकारमा सहभागी दल र सांसदले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको प्रक्रिया उनले राजीनामा नदिए पनि अगाडि बढेको हो।
कार्की रिट निवेदन बाेकेर सर्वाेच्च
तर, मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुगेका हुन् ।
रिट निवेदनमा उनले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
सर्वोच्च प्रशासन स्रोतले कार्कीको रिट निवेदन आइपुगेको र आफूहरु अध्ययनकै क्रममा रहेको बतायाे । अध्ययनपछि बिहीबार साँझसम्म रिट निवेदन दर्ता हुने उनको भनाइ छ ।