सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे सत्ता गठबन्धनमा छलफल भएको छ। नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी परेपछि मंगलबार मध्याह्न धनगढीमा विवाद सल्ट्याउन नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसद र नेताहरूसहितको बैठक बसेको थियो।
बैठकमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे छलफल भएको एक नेताले बताए। ‘एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नाउपाका सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिता लिनेबारे कुराकानी भएको छ। उहाँले फिर्ता लिनुभयो भने अर्को प्रक्रिया सुरू हुन्छ। हामीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे कुराकानी गरेका छौं,’ उनले भने।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच छलफल भएको थियो। छलफलमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको खनालले दाबी गरेका थिए।
‘सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबित्तिकै विवाद समाधान हुन्छ। मैले त्यही कुरा प्रधानमन्त्रीलाई भने।सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको छ,’ उनले दाबी गरेका थिए। एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले आफूहरू छलफलमै रहेको बताए।
‘हामी छलफलमै छौं, विषय टुंगिइसकेको छैन। अहिले नै केही भन्न सकिँदैन,’ उनले भने। एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सुदूरपश्चिमको मुख्यमन्त्री दिएमात्र कुरा मिल्ने बताए। ‘सुदूरपश्चिमको मुख्यमन्त्री दिएमात्र कुरा मिल्छ। हाम्रो निष्कर्ष त्यही हो,’ उनले भने।