सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि मात्रै राजिनामा दिने भएका छन् । मुख्यमन्त्री शर्मा निवासमा बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने र त्यसपछि मात्रै राजिनाको दिने निर्णय भएको प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए । उनले केन्द्रको निर्णयलाई हुवहु पालना गर्ने बताए ।
‘केन्द्रको निर्णय आइसक्यो अब मुख्यमन्त्री ज्युले विश्वासको मत लिएर मात्रै राजिनामा दिनुहुन्छ ।’ उनले भने, ‘ कि विश्वासको मत लिने पत्र दर्ता हुनुभन्दा पहिले नै केन्द्रले निर्णय गर्नुपथ्र्यो । जब पत्र दर्ता भयो, त्यसपछि निर्णय आयो ।,’ उनले मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर राजिनामा दिँदा एमालेको हित हुने बताए ।
यता, एमाले दलका प्रमुख सचेतक टेकराज पछाईले भने विश्वासको मत नलिएरै राजिनामा दिनुपर्ने बताए । केन्द्रको निर्णय आइसकेपछि उहाँले आफै राजिनामा दिनुपर्ने हो, विश्वासको मत लिनुपर्ने केही कारण नै छैन्’ उनले भने । हाल नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल तेस्रो पटक मुख्यमन्त्री राजकुमार शर्माको निवासमा प्रवेश गरेका छन् ।
अपराह्न साढे चार बजेदेखि चलेको माओवादी संसदीय दलको बैठक सकिने बित्तिकै नेता कँडेलले दलका प्रमुख सचेतक पछाईलाई लगेर मुख्यमन्त्री निवास पुगेका हुन् । मुख्यमन्त्री निवासमा माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री शर्मा र माओवादी प्रदेश अध्यक्ष विमला केसी छन् ।