सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी छ। प्राध्यापकहरू र विद्यार्थीहरूले विभिन्न माग राखेर विश्वविद्यालयमा तालाबन्दी गरेका हुन्।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र एकीकृत प्रगतिशील प्राध्यापक संगठनसहित नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।
उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र प्राध्यापक तथा विद्यार्थीहरूबीच विवाद देखिएकाे छ।
उपकुलपतिले कार्यविधिविपरीत सम्बन्धन र कार्यक्रम थप गर्ने अनुमति दिन लागेको भन्दै प्राध्यापकहरू र विद्यार्थीले असहमति जनाएका थिए।
तालाबन्दीका कारण शैक्षिक, प्रशासनिक र आर्थिक कामकाजमा प्रभावित भएकाे विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले केन्द्रीय कार्यालयमा लागेको ताला खोल्न सोमबार अपिल जारी गरेका छन्।
विश्वविद्यालयका उपकुलपतिको बिदाइ कार्यक्रम फागुन १५ मा राखिएको र त्यसका लागि पनि केन्द्रीय कार्यालयको तालाबन्दी खोल्न अपिल गरिएकाे छ ।