काठमाडाैं। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् ।
यस्ताे छ पृष्ठभुमीः
बराल २०१४ सालमा पाल्पामा जन्मिएका हुन्। २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय छन् । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आए ।
२०५० सालमा पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए । २०५४ सालमा उनले विद्यावारिधी गरे । यसैगरी २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी ९पीएचडी० को उपाधि प्रदान गर्यो ।
भारतमा अध्ययन सकेर नेपाल फर्केका बरालले विश्व बैंकको हायर एजुकेसन ९उच्च शिक्षा० भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाए । उनले पोखरा क्याम्पसमै हुँदै उक्त मौका पाएका थिए । त्यसपछि उनले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गरे । त्यहाँ उनले साढे तीन वर्ष काम गरेका थिए । त्यसपछि उनी पुनः क्याम्पसमै फर्केर अध्यापनतिर लागे ।
क्याम्पसमा उनी वित्त शास्त्रको विभागीय प्रमुख भएर काम गरे । त्योसँगै उनले अनुसन्धान विभागको पनि प्रमुख भएर काम गरे ।
त्यही बेला उनी व्यवस्थापन संकायको वित्तशास्त्र विशेष समितिको सदस्य समेत भए । र पछि त्यसको स्थायी समितिको सदस्य भएर काम गरे ।
त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फेकल्टी बोर्डका सदस्यमा नियुक्त भए । पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै उनी व्यवस्थापन विशेष समितिको सदस्य भएर काम गरे ।
२०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएर २०६८ सालमा बिदा भए । पोखरा विश्वविद्यालयको भिसी भएर आफ्नो कार्यकाल पुरा गरेसँगै उनी पुनः त्रिभुवन विश्वविद्यालयमै फर्किए । त्यसपछि उनी अमेरिका गए । अमेरिकामा उनी पढाउन गएका थिए । र २०६४ सालमा नेपाल फर्किए र त्रिविमा पढाउन थाले ।
२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड मेम्बर पनि भएर काम गरे । त्रिविको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरे । त्यसपछि २०६९ सालमा उनी भिजिटर प्रोफेसरको रूपमा पढाउन चीन गए । त्यहाँ एक वर्ष पढाए । र त्यसपछि नेपाल फर्किए । नेपाल फर्केर त्रिविमा नै पढाउन थाले र २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भए ।
अहिले उनी विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा विशेषज्ञको रूपमा काम गर्दै आएका छन् । साढे दुई वर्षदेखि उनी विज्ञको रूपमा काम गर्दै आएका हुन् ।
उनले अहिले त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई पढाउँदै आएका छन् । त्यस्तै पोखरा विश्वविद्यालयका पीएचडीका विद्यार्थीलाई समेत सहजीकरण गर्दै आएका छन् । २०३९ सालदेखि नेपालको उच्च शिक्षामा निरन्तर सक्रिय रहेका उनी कुनै पनि निजी क्याम्पसमा भने छैनन् ।