सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘हेपटाइटिस–ए’ संक्रमण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । अघिल्ला वर्षहरुको तुलनामा अहिले बढेको हो । विशेषगरी, बालबालिकाहरुमा यस किसिमको संक्रमण देखा परेको छ ।
‘हेपटाइटिस–ए’ पानीजन्य रोग हो । दूषित पानी पिउँदा यसबाट संक्रमण हुने गर्छ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित नेपाल बाल पोलिक्लिनिकका बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार हेपटाइटिस–ए का कारण जन्डिस देखा परेका बालबालिकाहरु उपचारका लागि आइरहेका छन् । महिना अघिदेखि दैनिक १–२ जना नियमित रुपमा उपचार गराईरहेका छन् ।
उनिहरु धेरैजसो दैलेख जिल्लाका हुन् ।
दैलेख जिल्लाको बजारक्षेत्रका बालबालिकाहरुमा त्यस किसिमको संक्रमण फैलिएको डा. केसीले जानकारी दिए । ‘मैले उहाँहरु (विरामी)लाई सोध्दा विशेष गरी बजार क्षेत्रबाट आउनुभएको छ ।’ उनले भने, ‘त्यस क्षेत्रका स्वास्थ्यका जिम्मेवार व्यक्तिलाई समेत जानकारी गराएको थिएँ ।’
मानवीय फोहोरहरु पानीसँग मिलेको छ भने त्यहाँबाट यस किसिमको संक्रमण हुनेगर्छ ।
यसका प्रमुख लक्षण पेट दुख्ने, वाकवाक हुने, ज्वरो आउने र जन्डिस हुने हो । ‘जन्डिस’ भने लक्षण हो रोग होइन । धेरै कारणले देखा पर्छ त्यसमध्येको यो ‘हेपटाइटिस–ए’ मा देखिन्छ ।
डा. केसीका अनुसार अहिलेसम्म उपचार गरेका मध्ये ज्यानै जाने अवस्थामा त कोही आएका छैनन् तर, अलि सिकिस्त बिरामी भने आएका छन् ।
समयमा उपचार हुन सकेन भने कलेजो नै फेल हुने अवस्थाको खतरा हुने उनले जानकारी दिए ।
समुदायमा संक्रमण फैलिन नदिन सरकारी निकायले मौसम अनुसारको स्वास्थ्य योजना बनाउन आवश्यक रहेको डा. केसीले सुझाव दिए । ‘गर्मी सुरु भयो भने पानीजन्य रोगहरु देखा पर्छन । त्यसैले समुदायमा उपभोग गरिरहेको पानी कस्तो छ भनेर हेर्नुप¥यो ।’ उनले भने, ‘ढलको माथी फलफूल राखेर सागसब्जी विक्रि भईरहेको हुन्छ । जुन यस्ता रोगहरुको संक्रमण जोखिम बढ्छ ।’
वर्षौदेखि थन्किएका छन् परिक्षण उपकरण
कर्णाली प्रदेशभर सेवा प्रवाह गर्ने उद्देश्यले राजधानी वीरेन्द्रनगरमा पानी परिक्षण प्रयोगशाला सञ्चालन गरिएको थियो । तर, अहिले सो प्रयोगशाला प्रयोगमा छैन । सामाग्री थन्काएर राखिएको छ ।
प्रदेश सरकारले पानी परिक्षण प्रयोगशालाका लागि आर्थिक वर्ष २०७७/७८ मा एक करोड ७३ लाख खर्च गरेको छ । सो बजेटबाट पानी परिक्षणका लागि आवश्यक उपकरणहरु खरिद गरिएको थियो । ती उपकरणहरु अहिले प्रयोगविहीन छन् ।
२०७८ असारमा प्रयोगशालाको उदघाटन समेत गरिएको थियो । पूर्वाधार विकास निर्देशनालयद्वारा प्रयोगशाला बनाइएको थियो ।
कार्यजिम्मेवारीका हिसाबले उतिबेला खानेपानीलाई भौतिक पूर्वाधार तथा शहरी विकास विकास मन्त्रालय मातहत राखिएको थियो । तर, अहिले ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालय मातहत रहेको छ ।
खानेपानी निर्देशनालय परिसरको प्रयोगशालामा रहेका ती महङ्गो मूल्यका मेशिनहरु ‘सञ्चालनमा आउन नसकेको’ प्रयोगशालाका अधिकृत जितबहादुर सारुले बताए । ‘यी मेशिनहरु जोड्न बाँकी छन् । यहाँको जनशक्तिले यसलाई जोड्न सकिदैन । विज्ञ चाहिन्छ ।’ सारुले भने ।
ती उपकरण राख्नका लागि अहिले भौतिक संरचनाको समेत अभाव छ ।
पानी परिक्षणका लागि २८ वटा जाँच गर्नुपर्ने भएकोमा थन्काएर राखिएका ती उपकरण प्रयोगमा ल्याउन सके २२ वटा परिक्षण हुनसक्ने अधिकृत सारुले जानकारी दिए ।
परिक्षणका लागि प्रयोगशालाले अहिले जनशक्ति अभाव पनि झेलिरहेको छ । यो सञ्चालनका लागि कम्तीमा पानी सम्बन्धी ल्याव प्राविधिक र रसायन विज्ञान सम्बन्धी जानकार चाहिन्छ । सेवा अवधिका क्रममा विभिन्न तालिमबाट प्राप्त ज्ञानका आधारमा परिक्षण गरिरहेको अधिकृत सारुले बताए ।
उनका अनुसार सो प्रयोगशालामा अहिले सात किसिमका परिक्षण मात्र हुने गरेका छन् । तीमध्ये टरविडिटी, पोटेन्सियल हाइड्रोजन, टेम्प्रेचर, इलेक्ट्रिक कन्डक्टिभिटी, अमोनिया, आईरन, इकोली र एफआरसी परिक्षण हुन सकेको छ । यी सबै परिक्षणका लागि भने उपभोक्ताबाट ७५५ रुपैँया शुल्क लिने गरिएको छ ।
प्रयोगशालामा गरिएको परिक्षणमध्ये धेरैजसो इकोली बढी भएको देखिएको छ । पानीको मुहान, रिजर्भ ट्याङ्की, धारा, घरमा पानी राखिएको भाडामा फोहोर मिसिएपछि इकोलीको मात्रा बढ्ने गर्छ । बुझ्ने भाषामा इकोली मानवीय फोहोरको मिश्रण हो ।
कस्तो पानी पिउनपर्छ ?
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार स्वच्छ पिउन उपयुक्त पानीका लागि केही सूचकहरु निर्धारण गरिएको छ । पानी उपभोग गर्नुअघि परीक्षण गर्नुपर्ने कुरा औल्याइएको छ । त्यो परीक्षणलाई भौतिक, रासायनिक र सुक्ष्म जैविक गरी तीन भागमा वर्गिकरण गरिएको छ ।
त्यसअनुसार भौतिक अर्न्तगत ५ (१०) एनटियु सम्म धमिलोपन, ६.५ देखि ८.५ डिग्रीसम्म हाइड्रोजन विभव, ५ (१५) टिसियु रंग, आपत्तीजनक नहुनेगरी स्वाद तथा गन्ध एक हजार मिलिग्राम सम्म कुल घुलित ठोसि पदार्थ र एक हजार पाँच सय माइक्रोसिमेन्स सम्म विद्युतीय संवाहकतालाई मापन गरिन्छ ।
यस्तै, रासायनिक अर्न्तगत फलाम, मेंगानीज, आर्सेनिक, क्याडमियम, क्रोमियम, सायनाइड, फ्लोराइड, शीशा, अमोनिया, क्लोराइड, सल्फेट, नाइट्रेट, तामा, कुल कडापन, क्याल्सियम, जस्ता, पारो, आलमोनियम र क्यालोरीन अवशेष परक्षण गरिन्छ । साथै, सुक्ष्म जैविक अर्न्तगत इ–कोली र कुल कोलिफर्मको परिक्षण गर्नुपर्छ ।
पानी परिक्षणका क्रममा उल्लेखित मापदण्ड भित्र पाइएमा सो पानी पिउन योग्य हुने जनाइएको छ ।