रुकुमपश्चिम । गत कार्तिक १७ गते राती जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएको तीन महिना पुगिसक्यो । भूकम्प पीडितहरु अझै त्रासमा छन् । उनिहरु दिनप्रतिदिन पीडित बनिरहेका छन् । राज्यका निकायले पुर्ननिर्माण गरिदिने आशमा घरको भग्नावशेष अगाडीको त्रिपाल मुनी बसिरहेका छन् । अझै, घरभित्र बस्न पाउने कहिले हो ? टुङ्गो छैन । सरकारका निकायले पुर्ननिर्माण जारी राखेपनि समयअनुसार सुस्त भईरहेको पीडितहरुको तर्क छ ।
आठविसकोट नगरपालिका –१४ का भूकम्पपीडित खम्बु मल्लले सबै पीडितहरु पुर्ननिर्माणको पखाईमा रहेको बताउछन् । केही पीडितका लागि अस्थायी आवास बनेपनि अझै धेरै पीडितहरु त्यसबाट बञ्चित भएको उनले जानकारी दिए । अस्थायी आवास बनाउन नसकेका पीडितहरु चर्किएको घरमै बस्न बाध्य छन् ।
अस्थायी आवास निर्माणमै सरकारले लामो समयसम्म अलमल गरिरहेको पीडितहरुको अनुभूति छ ।
सानीभेरी गाउँपालिका –८ की हस्तकली बुढाले स्थानीय सरकारले अझैपनि आफूहरुलाई राहत समेत दिन नसकेको गुनासो गरिन् । ‘घर चर्किएको छ, ढुक्कले बस्न सकिने अवस्था छैन । कतैबाट पनि राहत पनि पाएनौं ।’ बुढाले भनिन्, ‘वडा कार्यालयमा राहत माग्न जाँदा राहत सकियो भनेर खाली हात पठाउछन् ।’
आठविसकोट नगरपालिका प्रमुख रबि केसीले अस्थायी आवास निर्माणको काममै रहेको बताए । उनका अनुसार भूकम्पपछि खोज, उद्धार, उपचार र राहत वितरणको कामपछि स्थानीय सरकार अस्थायी आवास निर्माणको काममै रहेका छन् ।
पूर्ननिर्माणको प्रक्रिया तथा मापदण्डको लागि माथिल्लो सरकारबाट कुनै पनि निर्णय नआएकोले यो प्रक्रिया ढिलाई भएको जानकारी दिए । तीनै तहका सरकार एक भएर तत्काल पुनर्निर्माण प्रक्रिया सुरु गरिनुपर्ने उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म रुकुमपश्चिमा १८ हजार ८६६ वटा अस्थायी आवाससरकारी अनुदानबाट बनेका छन् । भूकम्पको कारण जिल्लामा करिब ३२ हजार घरमा क्षती पुगेको अनुमान रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले अस्थायी आवास निर्माणको लागि हालसम्म जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार रुपियाँ पठाईसकिएको बताए ।
यो रकम २९ हजार ४०६ वटा अस्थायी आवास निर्माणका लागि निकासा गरिएको हो । लाभग्राही एकिन भएका सबैको लागि पहिलो किस्ताको रकम पठाईएको र अझै लाभग्राहि एकिन गरेर पठाउने काम भईरहेको उनले जानकारी दिए ।
हिमपातले थप कष्ठकर
हिउँदे बर्षा र हिमपातका कारण भूकम्पपीडितको जनजीवन थप कष्टकर बनेको छ । भूकम्पले घर भत्काएपछि अस्थायी आवासमा र त्रिपालमुनि बस्दै आएका पीडितहरु थप प्रभावित बनेका हुन् ।
बिहिबार बिहानैदेखि परेको पानी र हिमपातको कारण उनीहरु थप पीडामा परेको प्रतिक्रिया दिएका छन् । आठविसकोट नगरपालिका –१४ छेपारे गाउँकी भूकम्पपीडित देवकली पुन मगरले राती देखि पानी पर्न थालेपछि चिन्ता बढ्न थालेको बताईन् ।
उनका अनुसार घरको नियमित कामसँगै अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ । टिनले छाएका अस्थायी टहरा र त्रिपालको भरमा पानीसँगै हिमपातको सामना गर्न कठिनाई भईरहेको उनको भनाई छ ।
आठविसकोट नगरपालिका –१४ ज्यामिरकोट गाउँका बिजय मल्लले जनजीवन थप कष्टकर बनेको बताए । उनका अनुसार हिउँदे वर्षासँगैको हिमपातले भूकम्पपीडितहरुको बसाईलाई प्रत्यक्ष प्रभाव परेको छ । मल्लले अस्थायी टहरा निर्माणको काम पुरा नभएको र चर्किएकै घरमा बस्छन् । पानी पर्न थालेपछि चर्किएको घरबाट पानी चुहिन थालेको बताए ।
सानीभेरी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष मनोज बुढाथोकीले हिमपात र पानी परेको कारण सर्वसाधारणको दैनिकीमा प्रभाव परेको बताए । उनले चिसोका कारण भूकम्पपीडितहरुको जीवन प्रभावित परेको उल्लेख गरे ।