काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको आकार घटाएको छ। सोमबार सकिएको केन्द्रीय परिषद्को दोस्रो बैठकले केन्द्रीय कमिटीको आकार घटाउने निर्णय गरेको हो।
अब बन्ने केन्द्रीय कमिटी १९९ सदस्यीय हुने भएकाे छ। एकीकृत समाजवादीको मौजुदा केन्द्रीय कमिटी ३३५ सदस्यीय छ।
परिषद् बैठकले केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या १९ रहने निर्णय पनि गरेको छ।
त्यस्तै प्रदेश कमिटीको सदस्य संख्या ७५देखि ९९ सम्म र प्रदेश कमिटी पदाधिकारीहरूको संख्या सात रहने पनि निर्णय गरेको छ। जसमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव तीन जना रहने व्यवस्था गरिएको छ।
एक मात्र संघीय निर्वाचन क्षेत्रमा भएका जिल्ला कमिटीहरूको सदस्य संख्या ५५ हुने र एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित ती जना थप गर्ने निर्णय गरिएको एकीकृत समाजवादीले जानकारी दिएको छ।
त्यस्तै एकीकृत समाजवादीमा कार्यकारिणी कमिटीमा ७० उमेरहद राख्ने विषय पनि बहसमा थियो। परिषद् बैठकले नराख्ने निर्णय गरेको छ।
समावेशीताको सिद्धान्तअनुसार पार्टीका सबै कमिटीहरू ४० वर्षमुनिका २० प्रतिशत युवा राख्नैपर्ने प्रबन्ध गरेको एकीकृत समाजवादीले जानकारी दिएको छ।
त्यस्तै प्रदेशमा आयोगहरू नराख्ने निर्णय एकीकृत समाजवादीले गरेको छ।
यसैगरी एकीकृत समाजवादीले महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालदेखि सबै प्रतिनिधि आ–आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएर आउनुपर्ने निर्णय गरेको छ।