कर्णाली । राष्ट्रिय सभा सदस्यमा कर्णालीबाट दलिततर्फ विष्णु विक विजयी भएका छन् । उनि सत्तारुढ गठबन्धन अन्र्तगत नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए ।
विकले तीन हजार ८१७ मतभार प्राप्त गरेका छन् । उनले ३९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गरे ।
विकका प्रतिस्पर्धी नेकपा एमालेका हिक्मत विकले एक हजार ३६७ मतभार लिए । उनले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित भए ।
निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको थियो ।
यस्ताे छ राजनीतिक पृष्ठभुमी
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका विष्णु विक कालीकोटका हुन्। २०४६ मा शिक्षकबाट राजीनामा दिएर उनी राजनीतिमा लागेका हुन्। सुरुमा नेपाल मजदुर किसान पार्टीबाट उनले आफ्नो राजनीतिक यात्रा सुरु गरे।
२०४९ सालमा भएको स्थानीय निकायको चुनावमा मालकोट गाविसको अध्यक्ष निर्वाचित भए।
माओवादीले विद्रोह सुरु गर्नुभन्दा एक बर्षअघि उनी माओवादीमा प्रवेश गरे। विक २०५१ सालमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। २०५४ सालमा उनी भूमिगत भए।
माओवादीमा रहँदा उनले मोर्चाको नेतृत्व गरेका थिए। नेपाल दलित मुक्ति मोर्चाको संस्थापक जिल्ला अध्यक्ष बनेका उनी मोर्चाकै भेरी कर्णाली अध्यक्ष, केन्द्रीय समिति सदस्य र २०६१ सालमा केन्द्रीय सचिव बने।
विक अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य तथा कालीकोट इञ्चार्ज छन्।