काठमाडौं । दैलेखको दुल्लू क्षेत्रमा निर्माण हुने दुई वटा सडकका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता प्रदान गरेको छ । बहुवर्षिय आयोजना अन्र्तगत रहेको ती दुई सडकका लागि १६ करोड ५० लाख बजेट सुनिश्चित गरिएको हो ।
अर्थमन्त्री प्रकाशसरण महत अध्यक्षतामा बुधबार बसेको मन्त्रीस्तरीय बैठकले यी दुई सडक सहित चार वटा सडक योजनाको ७० करोड ४९ लाखको बजेट स्रोत सुनिश्चित गरेको थियो ।
सुर्खेत–तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लू–पिपलबोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडकको तल्लो डुङ्गेश्वर–दुल्लू सडक खण्डका लागि १० करोड ५० लाख रुपैँया सुनिश्चित गरिएको छ । यसका लागि चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा दुई करोड ६२ लाख ५० हजार विनियोजन गरिएको थियो ।
यस्तै, भारतीय सिमा मुर्तिया–भुरीगाउँ–तेलापनी–सुर्खेत–माथिल्लो डुङ्गेश्वर–बैक–वेउली–नाग्मा सडकको माथिल्लो डुङ्गेश्वर–वेउली सडक खण्डका लागि छ करोड बजेट सुनिश्चित गरिएको छ । यसका लागि चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा एक करोड ५० लाख विनियोजन गरिएको थियो ।
अर्थमन्त्रालयद्वारा स्रोत सुनिश्चितता एंवम् सहमति प्रदान भएपछि अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत कार्यालयले बहुवर्षिय ठेक्का आह्वान गर्नेछ । यसपश्चात सडक निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ ।