कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालको छिमेकी मुलुक भारतका विद्यार्थाी भर्ना भएका छन् । यसलाई गौरवको रुपमा लिइएको छ ।
प्रतिष्ठानमा चिकित्सा शास्त्रअन्तर्गत् एमबीबीएसका लागि यस वर्ष ५० विद्यार्थी भएका छन् । जसमा ३ जना भारतीय विद्यार्थी भएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए ।
उनका अनुसार दुई छात्रा जम्मु काश्मिरकी हुन् भने छात्र अल्लाहपुर, उत्तर प्रदेशका हुन् ।
प्रतिष्ठानले एमबीबीएस अध्यापन सुरु गरेको तीन बर्ष भइसकेको छ । चौँथो ब्याचमा भारतीय विद्यार्थीहरु समेत भर्ना हुन आइपुगेका हुन् ।
प्रतिष्ठानले पहिलो बर्ष एमबीबीएस अध्यापनको लागि २० जनाको कोटा पाएको थियो । पछिल्लो दुई बर्षमा ३०/३० जना भर्ना लियो । यो बर्षदेखि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा दिएपछि जुम्लामा चहलपहल अझै थपिएको छ ।
प्रतिष्ठानमा चिकित्सा शिक्षाका चार वटा स्कुलमा स्नातक र स्नातकोत्तर गरी १३ वटा कार्यक्रम चलिरहेका छन् । स्कुल अफ मेडिसिन, स्कुल अफ फार्मेसी र स्कुल अफ पब्लिक हेल्थमा स्नातकदेखि स्नातकोत्तरसम्मका कार्यक्रम सञ्चालनमा छन् ।
स्कुल अफ नर्सिङमा अहिलेसम्म स्नातक मात्रै भए पनि अर्को सत्रबाट स्नातकोत्तर कार्यक्रम थपिने उपकुलपति रावलले बताए ।
यी सबै कार्यक्रमका लागि झण्डै एक सय शिक्षक–प्राध्यापक खटिएका छन् । करिब चार सय विद्यार्थी अध्यय्नरत छन् ।
प्रतिष्ठानको आम्दानी पनि गएका ३ वर्षमा ७ गुणाले बढेको छ । ३ वर्षअघिसम्म वार्षिक ५ करोड आम्दानी हुने प्रतिष्ठानले गत वर्ष २७ करोड कमाएको थियो । उपकुलपति डा. रावलका अनुसार यो वर्ष ३२ करोड रूपैयाँ पुग्ने अनुमान छ ।