सुर्खेत । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरिएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच एकता र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। कर्णाली प्रदेशमा तीन सिटका लागि छ जनाको मनोनयन दर्ता भएको छ ।
आगामी माघ ११ गते मतदान हुनेछ। यो निर्वाचन प्रणालीमा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रदेश सभा सदस्यहरु मतदाता हुने व्यवस्था छ । त्यसअनुसार यसपटक हुने निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको छ। यसरी गणना हुँदा कर्णाली प्रदेशको कूल मतभार पाँच हजार ८४ रहेको छ।
कर्णालीमा सत्तारुढ गठबन्धन दल बलियो देखिएको छ। पार्टीबाटै निर्वाचित जनप्रतिनिधीहरुको संख्या बढी रहेकाले गठबन्धनकै उम्मेदवार जितको नजिक हुने अनुमान गरिएको छ।
सत्तारुढ गठबन्धन दलबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विकले उम्मेदवारी दिएका छन् ।
यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्ली प्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विकले उम्मेदवारी दिएका छन् ।
यस्ता छन् उम्मेदवारका राजनीतिक पृष्ठभुमी
कृष्णबहादुर रोकाया
सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णबहादुर रोकाया रुकुम पश्चिमका हुन्। बहुदल स्थापनापछि राजनीति सुरु गरेका रोकाया नेपाल विद्यार्थी संघ रुकुमको संस्थापक अध्यक्ष हुन्। नेपाल विद्यार्थी संघ रुकुमको अध्यक्षमा उनी दुइ कार्यकाल निरन्तर रहे।
२०५३ सालदेखि २०५७ सम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य थिए। २०५७ सालको दशौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै जिल्लाको पार्टी सचिव बने। २०६७ सम्म उनी जिल्ला सचिव भएर काम गरेका थिए। १४ औं महाधिवेशनसम्म पनि रोकाया निरन्तर महासमिति सदस्य निरन्तर थिए।
२०७० सालको संविधान सभा निर्वाचनमा रुकुम (१) बाट चुनाव लडेका थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा पनि रुकुम पश्चिम प्रदेश (क) बाट उम्मेदवार बनेर चुनाव लडे। यी दुवै निर्वाचनमा उनी पराजित भए।
२०६२/६३ को दोस्रो जनआन्दोलनको बेला सक्रिय रुपमा लागेका उनी एक हप्ता प्रहरी हिरासतमा बसेका थिए।
सावित्री मल्ल
नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी सावित्री मल्ललाई स्थानीय सरकार सञ्चालनको अनुभव छ। उनी २०७४ सालको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपप्रमुख निर्वाचित भएकी थिईन्। त्यतिबेला उनी नेकपा एमालेमा थिईन्।
२०४३ सालमा नेपाल मजदुर किसान पार्टीमा आएर मल्लले राजनीतिक यात्रा सुरु गरेकी हुन्। उनी ०५४ सालमा जिल्ला विकास समितिको सदस्य बनिन्।
२०६२/६३ को जनआन्दोलनका क्रममा दैलेखमा सुरुमा गिरफ्तार भएकी थिईन्। उनी प्रहरी हिरासतमा पनि बसिन्।
एमालेमा फुटको अवस्था आएपछि उनी माधव नेपालको पक्षमा उभिईन्। अहिले उनी नेकपा (एस) को केन्द्रीय सदस्य तथा दैलेख ईञ्चार्ज छिन्।
विष्णु विक
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका विष्णु विक कालीकोटका हुन्। २०४६ मा शिक्षकबाट राजीनामा दिएर उनी राजनीतिमा लागेका हुन्। सुरुमा नेपाल मजदुर किसान पार्टीबाट उनले आफ्नो राजनीतिक यात्रा सुरु गरे।
२०४९ सालमा भएको स्थानीय निकायको चुनावमा मालकोट गाविसको अध्यक्ष निर्वाचित भए।
माओवादीले विद्रोह सुरु गर्नुभन्दा एक बर्षअघि उनी माओवादीमा प्रवेश गरे। विक २०५१ सालमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। २०५४ सालमा उनी भूमिगत भए।
माओवादीमा रहँदा उनले मोर्चाको नेतृत्व गरेका थिए। नेपाल दलित मुक्ति मोर्चाको संस्थापक जिल्ला अध्यक्ष बनेका उनी मोर्चाकै भेरी कर्णाली अध्यक्ष, केन्द्रीय समिति सदस्य र २०६१ सालमा केन्द्रीय सचिव बने।
विक अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य तथा कालीकोट इञ्चार्ज छन्।
डिल्ली प्रसाद भट्ट
एमालेबाट उम्मेदवार बनेका डिल्ली प्रसाद भट्ट मुगुका हुन्। २०३८ सालबाट राजनीतिक यात्रा सुरु गर्न खोजेपनि उनले बीचमा निरन्तरता दिएनन्। उनी केही समय नेपाल सरकारको कर्मचारीका रुपमा काम गरे।
सन् १९९४ मा उनले जापानमा बसेर ईञ्जिनियरिङ पढेका हुन्। समाजकल्याण परिषदको सचिव भएर काम गरिसकेका भट्ट अहिले नेकपा एमालेको कर्णाली प्रदेश कमिटी सदस्य हुन्।
विमला शाही
नेकपा एमालेबाट उम्मेदवार बनेकी विमला शाही हुम्लाकी हुन्। उनी हुम्लाको चंखेली गाउँपालिकाको उपाध्यक्ष भएर पनि काम गरिसकेकी छन्। २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गरी चुनावमा सहभागी हुँदा उनी उपाध्यक्षमा निर्वाचित भएकी थिईन्।
२०६० सालबाट नेकपा एमालेको सदस्यता लिएकी उनले बीचमा चार बर्ष भने राजनीतिमा सक्रिय भईनन्। त्योबेला उनी शिक्षण पेशामा आवद्ध भईन्।
विमला २०७४ सालम पार्टीको जिल्ला कार्य समितिमा सदस्य भएर सचिवालयमा समेत बसेर काम गरिन्। अहिले पार्टीको जिल्ला कमिटीमा उपसचिव छिन्।
हिक्मत विक
हिक्मत विक दैलेखका हुन्। उनी २०४६ सालबाट एमालेमा आवद्ध भएका हुन्। उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनका बेला जिल्ला परिषद सदस्यमा मनोनित भएका थिए।
२०५४ पछि साविकको भैरीकालिकाथुम गाविसको सक्रीय दलको सचिव भएका विक २०६१ मा ईलाका कमिटीको उपसचिव र २०६२ सालमा जिल्ला कमिटी सदस्य भएका थिए। जिल्ला कमिटीको सचिवालय सदस्यमा रहेर पनि उनले लामो समय काम गरेका थिए।
नेकपा हुँदा उनी भैरवी गाउँपालिकाको अध्यक्ष थिए। उनले पार्टीको प्रदेश कमिटी सदस्य भएर पनि काम गरेका छन्।
२०७७ मा भएको राष्ट्रिय भेलाबाट नेपाल विद्यार्थी मुक्ति समाजको प्रदेश अध्यक्ष बने। छैटौं राष्ट्रिय सम्मेलनबाट नेपाल विद्यार्थी मुक्ति समाजको केन्द्रीय उपाध्यक्ष र कर्णाली इञ्चार्ज बने।