सुर्खेत । वीरेन्द्रनगरको मंगलगढीदेखि पश्चिम क्षेत्र आसपासमा विद्युत सेवा अवरुद्ध भएको १८ औं घण्टा बितिसक्यो । गएराती साढे आठ बजे ट्रकको ठक्करबाट गण्डकी लाइन नजिक विद्युत पोल ढलेको थियो । त्यसपश्चात अवरुद्ध विद्युत दिउँस २ बजेसम्म सञ्चालनमा छैन ।
विद्युत सेवा अवरुद्ध भइराखेपनि समयमा सेवा सुचारु गर्न नसक्नु विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रको कमजोरी देखिएको छ । वीरेन्द्रनगर उपत्यकाभित्रै पोल ढलेका कारण सेवा अवरुद्ध हुँदासमेत सञ्चालनमा कार्यालयले तदारुकता नदेखाएको स्थानीयको आरोप छ ।
उता, विद्युत विरण केन्द्रका प्रमुख अशोक लोहनीले ट्रकद्वारा क्षतिपुर्ति भराउन समय लागेकोले ढिलाई भएको बताए । ‘प्रहरी चिठी, मुचुल्का, जरिवाना लगायतका काम गर्दा समय लागेको हो । अब काम हुँदैछ ।’ उनले भने ।
उनका अनुसार ट्रक चालकले ४४ हजार रुपैँया जरिवाना तिरेको छ ।