सुर्खेत । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुरले जाजरकोट भूकम्प पीडितहरुलाई चिसोबाट जोगाउन आवश्यक रहेको बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको अवलोकन सकिएपछि सोमबार सुर्खेतस्थित आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले भेट्दै उनले चिसोका कारण जनजीवन कष्टकर बनेको बताए ।
भूकम्पबाट प्रभावित जाजरेकाट र रुकुमका बासिन्दाहरु अहिले पालमुनी बसिरहेको छन् । अस्पतालहरुमा चिसोका कारण बिरामी हुनेको सङ्ख्या बढ्न थालेको उनले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको समेत जनशक्ति बढाउनका लागि प्रदेश सरकारसँग अनुरोध गरे ।
‘चिसोबाट जोगाउन निकै आवश्यक छ । उहाँहरुलाई कम्तिमा बसोबास गरिरहेको स्थानमा आगो ताप्ने व्यवस्था गरिदिन मात्रै सके जोखिम धेरै कम हुनसक्छ ।’ ठाकुरले मन्त्री जिसीसँग भने, ‘स्वास्थ्य संस्थाहरुमा पनि जनशक्ति बढाउन आवश्यक देखिएको छ ।’
ठाकुरले केही पालिकाहरुमा अझै राहात वितरणका कामहरु हुन नसकेको औल्याएका छन् । उनले पारदर्शी बनाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धान पनि सँगै गर्नुपर्ने सुझाव दिएका छन् ।
उनले प्रदेश सरकारलाई पुर्ननिर्माणका लागि संयन्त्र गठन गर्न समेत सुझाव दिए । ‘अहिले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले काम गरेको रहेछ । तर, प्रदेश सरकारसँग समन्वय कम भएको पाइयो । अबका दिनमा प्रदेशको आफ्नै सयन्त्र गठन हुनसक्यो भने पछिल्ला दिनहरुमा पनि सहज हुने देखिन्छ ।’ उनले भने ।
उद्दार कार्यमा खटिएका सुरक्षा निकायका कर्मचारी, जनप्रतिनिधी, स्वयम्सेवक लगायतलाई प्रदेश सरकारका तर्फबाट सम्मान गरिनुपर्ने सुझाव दिए ।
साथै, मन्त्री जिसीले प्रदेश सरकारका तर्फबाट राहात तथा पुर्ननिर्माणका कामहरु निरन्तर भईरहेको जानकारी गराए । उनले अस्थायी आवास निर्माण गर्ने, मृतक परिवारलाई बीमा रकम वापतको रुपिँया उपलब्ध गराउने । सडक, खानेपानी, स्वास्थ्य चौकी, विद्यालय लगायतका संरचनाको पूर्वाधार निर्माण जस्ता कामहरु भईरहेको बताए ।
उनका अनुसार वीमा रकम अन्तरगत प्रति मृतक दुई लाख रुपिँयाका दरले एक सय छ जनाका परिवारलाई रकम वितरण गरिएको छ । अन्य व्यक्तिका परिवारलाई रकम वितरण गर्ने कार्य जारी छ ।