सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले भूकम्प प्रभावित क्षेत्र सम्बन्धी कर्णाली प्रदेश सरकारको योजना माग गर्ने भएको छ । समितिको बिहिबार बसेको बैठकले सरकारको ध्यानाकर्षण गराउँदै योजना माग गर्ने निर्णय गरेको हो ।
भूकम्प पश्चात स्वास्थ्य, शिक्षा, राहत तथा उद्दार लगायतका समस्या समाधानका उपायहरुका बारेमा प्रदेश सरकारको योजनाको विवरण माग गर्न लागिएको समितिका सभापति घनश्याम भण्डारीले बताए ।
समितिले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा स्वास्थ्य, शिक्षाको वर्तमान अवस्थाको तथ्याङ्क सहितको योजना मागेको छ ।
भूकम्प प्रभावित बृद्धबृद्धा, गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरूले पाउनुपर्ने स्वास्थ्य सेवा अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित गर्नका लागि कर्णाली प्रदेश सरकारको भूमिका देखिने गरी काम कारवाही गर्न ध्यानाकर्षण गराईएको सभापति भण्डारीले बताए ।
साथै, बैठकले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण गरेका नियमावली, कार्यविधि, निर्देशिका, नीति/रणनीति, मापदण्डहरू समितिमा ७ दिनभित्र उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।
यसैगरी, समितिको छलफलको क्रममा रहेको कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको बिधेयकलाई फिर्ता पठाउन समितिको प्रतिवेदन तयार गर्ने निर्णय गरिएको छ ।