सुर्खेत । शनिबार विहानै देखि वीरेन्द्रनगर अशान्त बनेको छ । आज आईतबार पनि त्यो क्रम जारी छ । दैलेख स्थायी ठेगाना भई वीरेन्द्रनगर बस्ने दुई बालकको मृत्यु पछि आफन्तहरु आन्दोलनमा छन् । दुई वटा घटना छुट्टा–छुट्टै भएपनि आईतबार भने संयुक्त आन्दोलन भइरहेको छ । आन्दोलनरत् पक्ष र प्रहरीबीच बेला–बेलामा हुने झडपका कारण सर्वसाधरण मर्कामा छन् । व्यापारीहरु ढुक्कले व्यापार गर्न पाएका छैनन् । सवारी अवागमन ठाउँ ठाउँमा रोकिएका छन् । विद्यालयमा तोडफोड र आगजनी भएको छ ।
आईतबार बिहान आन्दोलनकारीले बन्द अवरोध पु¥याएपछि स्थानीय एक युवकलाई कुटेका छन् । प्रहरीकै अगाडी कुटाई खाइरहेका उनलाई सुरक्षा दिन सकेन प्रहरीले । ती युवकले आफुमाथी कुट्ने विरुद्ध जाइलाग्न अन्य युवालाई खबर गरेको बुझ्न सकिन्थ्यो । यो घटनाले पनि आन्दोलनरत पक्ष र अन्य युवाहरुबीच सामुहिक झडपको अवस्था निम्त्याउन सकिने देखिन्छ ।
यस्ता घटना भइरहँदा प्रहरी र प्रशासनले उनिहरुलाई रोक्न सकेको छैन । न त घटनाको छानबिन प्रहरी प्रशासनले गरिरहेको अनुभुति पीडित पक्षले नै गर्न सकिरहेका छन् । राज्यका निकायले पीडितलाई न्यायको अनुभुति गराउनु नै प्रहरी प्रशासनका सफलता हो । तर, यी परिघटनामा प्रहरी प्रशासनको कमजोरीका कारण सडक आन्दोलनले प्रसय पाएको देखिन्छ ।
होस्टेलमा मृत बालक
वीरेन्द्रनगरको उषा बालवाटिका विद्यालयको होस्टलमा शुक्रबार बेलुका ८ वर्षीया बालक मृत फेला परे । उनि चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी थिए । उनी कक्षा २ मा पढ्थे ।
शुक्रबार मृत भेटिएका बालकको शनिबार रातीसम्म शव उठ्न सकेन । आफन्तहरुले शंकास्पद घटना भएकोले शव उठाउन नमानेका हुन् । तर, राती भने प्रारम्भिक समझदारी भएपछि शव प्रदेश अस्पताल सुर्खेतको शवगृहमा लगिएको छ ।
विद्यालयको होस्टलमा बसेका बालक झुण्डिएको अवस्थामा भेटिएपछि आफन्तहरुले घटना शंकास्पद भएको बताएका छन् । आफन्तले होस्टेल बाहिर र विद्यालयमा तोडफोड गरेका छन् ।
घटना हत्या वा आत्महत्या जेसुकै भएपनि संरक्षित आवास गृहमा राखिएका व्यक्ति मृत फेला पर्नु विद्यालयको कमजोरी बुझ्न सकिने कानूनका जानकारहरु बताउछन् ।
बालबालिका सम्बन्धी कानूनमा के छ ?
बालबालिकाले सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई संवैधानिक रुपमा व्यवस्था गरिएको छ । नेपालको संविधानमा घर, विद्यालय वा जुनसुकै स्थानमा शारिरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्न नहुने उल्लेख छ ।
बालबालिका सम्बन्धी ऐनको दफा १६ (१) मा बालबालिकासँग सम्बन्धित कार्य गर्ने प्रत्येक निकाय तथा संस्थाका अधिकारीले हरेक काम कारबाही गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिई आवश्यक बालमैत्री प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ ।
सोही ऐनको दफा ५६ मा कुनै संस्थाले संरक्षकको जिम्मेवारी पाएको भएमा त्यस्तो संस्था प्रमुख बालबालिकाको हेरचाह तथा पालनपोषणको लागि अन्तिम जिम्मेवार मानिने उल्लेख छ ।
साथै उक्त ऐनको दफा ६६ (घ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारिरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गरेमा बालबालिका विरुद्धको कसूर मानिएको छ । यस प्रकारको कार्य गरेमा पचास हजार रुपैँयासम्मको जरिबाना र एक वर्षसम्म कैद तोकिएको छ ।
मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ ।
बालबालिका सम्बन्धी नियमावलीको नियम १५ (क)मा बालबालिकाको जीवन रक्षा सुनिश्चित हुने व्यवस्था छ ।
नियमावलीको नियम १६ मा बालबालिकाको निगरानी कक्षको सञ्चालन र व्यवस्थापनको बारेमा उल्लेख छ । त्यसमा, मनोसामाजिक मरामर्श दिने व्यवस्थालाई न्यूनतम सेवामा राखिएको छ ।
मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु
शनिबार विहान मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालकको मृत्यु भयो । उनि दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका दिग्दर्शन गिरी थिए ।
वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिएका थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पतालमा लिइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ती बालकको शव अहिले प्रदेश अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार छन् ।
घटनाको २४ घण्टा बितिसक्दा समेत मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा नलिँदा आफन्तहरु थप आन्दोलित बनेका छन् ।
यसअघि सिसिटिभी क्यामेराको सहायताले वीरेन्द्रनगरका अधिकांश घटनाको अनुसन्धान गर्ने प्रहरीलाई यसपटक भने हम्मे–हम्मे भएको छ । वीरेन्द्रनगर नगरपालिकाले जडान गरेका सिसिटिभी क्यामेरा बिग्रिएको जनाइएको छ ।
प्रजिअ भन्छन् : आन्दोलन हाम्रो कुरा होईन, वार्ता हुदैन
प्रहरी प्रशासनले दुई वटै घटनालाई लिएर अनुसन्धान गरिरहेको र कानुनी प्रक्रिया अपनाएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा बताउछन् । उनि भन्छन्, ‘हामीले कानुनी प्रक्रियामा काम गरिरहेका छौं । आन्दोलन हाम्रो कुरा होइन ? उहाँहरुले आन्दोलन के का लागि गर्ने ? आन्दोलन कम गर्न हामी वार्ता पनि बस्दैनौं ।’
उनका अनुसार उषा विद्यालयका प्रिन्सिपल र होस्टल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छ भने सडक दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिईसकेको छ । मोटरसाईकल चालक भने अहिले पनि फरार छन् उनको खोजीका लागि सबै संयन्त्र प्रयोग भईरहेको छ ।