सुर्खेत । प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकाको आस्था आमनागरिकको केन्द्रको रुपमा स्थापित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । बिहीबार नेपाल बार एशोसियसनको सुर्खेतमा आयोजित केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
तर, बढ्दो जनअपेक्षा, सिमित स्रोत साधन लगायतका कारण चुनौती भएको बताए । ‘चुनौती भएपछि भागेर होइन सामना गरेर मात्र गन्तव्यमा पुग्न सकिन्छ’ उनले भने, ‘त्यसका लागि जनताको आस्था र विश्वास अभिवृद्धि गर्ने प्रयासहरु भएका छन् ।’
अदालतको कार्यसम्पादनमा देखिएका सकारात्मक सुधारमा बारको भूमिका रहेको टिप्पणी गर्दै न्यायपालिकाको सुधारमा अदालत एक्लैले मात्र सफल नहुने बताए । उनले त्यसका लागि बारले समन्वय र सहकार्य गर्न आवश्यक रहेको औल्याए । न्यायिक सुधारको क्षेत्रमा बार एसोसियसनको भुमिकाको प्रसंशा गर्दै उनले नकारात्मक पक्षबाट मुक्ता हुन अनुरोध गरे ।
साधारणसभाको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले न्यायधीश नियुक्तीको समेत विषय उठान गरेपछि उक्त कुराको स्पष्टोक्ती दिदैं प्रधानन्यायाधीश श्रेष्ठले नियुक्तीका विषयमा उठेको कुराको जवाफ कामबाट दिईने बताए । ‘विगत एक वर्षदेखि न्यायधीश नियुक्ति हुन सकेको थिएन । जतापनि न्यायाधीश नहुँदा कार्यसम्पादन हुन सकेन भन्ने गुनासो बढेको थियो । कानून व्यावसायीहरुको भावनालाई बुझेर एक महिनाभित्रै नियुक्ति प्रक्रिया अगि बढ्यो ।’ उनले भने, ‘न्याय परिषदले पनि वरिष्ठता, कार्यक्षमता र इमान्दारितालाई हेरिएको होला भन्ने लाग्छ ।’
यसैगरी, नेपाल बार एशोसियसनले आर्थिक वर्ष २०७८/७९ र ०७९/८० गरी दुई आर्थिक वर्षको एकैपटक साधारण सभा आयोजना गरिएको जनाइएको छ ।
साधारणसभामा देशभरबाट एक हजार बढी प्रतिनिधिहरु सहभागी भएको जनाईएको छ ।