सुर्खेत । नेपाल बार एशोसियसनको केन्द्रीय साधारणसभा सुर्खेतमा आयोजना हुँदैछ । असोज १२ र १३ गते हुने साधारणसभालाई विधान सभाको रुपमा समेत लिइएको छ । यसपटक आर्थिक वर्ष २०७८/७९ र ०७९/८० गरी दुई वर्षको एकैपटक साधारण सभा हुन लागेको हो । विधानतः विशेष परिस्थितिमा दुई वटा साधारण सभा एकैपटक गर्न सकिने सुविधा छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कानून मन्त्री धनराज गुरुङद्वारा सधारणसभाको उद्घाटन हुने बारका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
‘संघीयतापछि बारको विधान संशोधन भएको छैन । यो साधारण सभामा संघीय संरचना बमोजिमको विधान संशोधन भई पारित हुनेछ ।’ उपाध्यक्ष आचार्यले भने, ‘संशोधित विधान पारित हुनु नै यो साधारण सभाको मुख्य उपलब्धीका रुपमा लिइएको छ ।’
गत असार महिनामा बसेको बारको बैठकले विजय मिश्रको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरिसकेको छ । उक्त समितिले संशोधित मस्यौदा तयार गरिरहेको उपाध्यक्ष आचार्यले जानकारी दिए । ‘दुई वर्षमा हुन नसकेको साधारणसभा अहिले हुन लागेको छ ।’ उनले भने, ‘त्यो पनि कर्णालीमा हुन लागेकाले यो गौरवको विषय हो ।’
साधारणसभा सुर्खेतमा आयोजना हुनुलाई कर्णालीको लागि गौरवका रुपमा लिइएको छ ।
साधारणसभामा एक हजार बढी प्रतिनिधीहरुको सभागिता रहने छ । सुर्खेतका वीरेन्द्रनगर र छिन्चुमा समेत गरी आवास सहितका एक हजार १८१ क्षमतामा होटलहरु उपलब्ध हुने जानकारी प्राप्त भएको वरिष्ठ अधिवक्ता ध्रुवकुमार श्रेष्ठले बताए ।
साधारण सभाका लागि १० वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
साधारणसभामा कर्णालीको पर्यटन प्रवद्र्धनलाई विशेष ध्यानमा राखिएको बताइएको छ । कर्णालीका पर्यटकियस्थलको पहिचान गर्न र यहाँको रितीरिवाजलाई नेपालभर चिनाउने योजना रहेको छ । त्यसका लागि सांस्कृतिक क्षेत्रमा विशेष योगदान पु¥याएको कलाकारहरुको संलग्नतामा कर्णालीको लोक सांस्कृतिक कार्यक्रमहरु प्रदर्शनी हुने छ भने पर्यटकीय अवलोकनका लागि पर्यटन प्रवद्र्धन उपसमिति समेत गठन गरिएको छ । उक्त उपसमिति मार्फत कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यहरुमा अवलोकनका लागि टूर प्याकेजहरु समेत उपलब्ध गराइने बताइएको छ ।
कर्णालीका पर्यटन व्यावसायीहरु मार्फत रारा तालसम्मको टूर प्याकेजका लागि व्यवस्था मिलाइएको जनाइएको छ ।
करिब ४० लाख खर्च अनुमान गरिएको यो साधारणसभाका लागि बारले आफ्नो कोष सहित पर्यटन बोर्ड, कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर सहित सुर्खेतका स्थानीय तह लगायत विभिन्न निकायबाट आर्थिक सहयोगको अपेक्षा राखिएको जनाएको छ ।