डोल्पा । १६ दिनदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा मेजर पण्डितको शव फेला परेको हो ।
भेरी नदीमा मा माछा मार्न जाल खेल्दै जाने क्रममा बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवमल सार्कीले चिन्ढेबगर नदी किनारमा लास देखेपछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए । दुई वटा ढुङ्गाको खोल्सामा शव देखेपछि आफूले बेपत्ता मेजर हुन् कि भनेर जाल खेल्न छाडेर चौकीमा खबर गरेको उनले बताए । सार्कीले खबर गर्ने बित्तिकै खदांग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमान्डमा उद्धार सामग्री सहित नेपाली सेनाका मेजर रवि शाहको टोली शव फेला परेको चिन्ढेबगरमा पुगेको थियो ।
प्रहरी नायव उपरीक्षक बुढाथोकीको टोली पुगेको केही समयपछि रामवाण गुल्मका गुल्मपती ध्रुव कार्कीको टोलीसमेत शव भेटिएको ठाउँमा पुगेपछि भेरी नदीको किनारमा ढुङ्गाको खोचमा रहेको शव बाहिर निकालेर हेर्दा र मेजर पण्डितले लगाएका घडी, औँठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।
यस्तै, शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीयहरू समेतको उपस्थितिमा शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको समेत बुढाथोकी बताए ।
शव पहिचानका लागि मेजर पण्डितका दाइ कुमार पण्डितसमेत घटनास्थलमा पुग्नुभएको थियो । काठमाडौँस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता भएका थिए ।