काठमाडाैं । भारतको संघीय राजधानी नयाँ दिल्लीमा ग्रूप अफ ट्वेन्टी अर्थात् जी–२० शिखर सम्मेलन आजदेखि हुँदैछ। विश्वका १९ वटा सबैभन्दा ठूला अर्थतन्त्र र युरोपेली संघ मिलेर बनेको जी–२० को शिखर सम्मेलनको यसवर्ष आयोजक भारत छ।
भारतले जी–२० को क्रमानुगत अध्यक्षता इन्डोनेसियाबाट पाएको थियो। दुई दिने जी–२० शिखर सम्मेलनको कार्यक्रम समापनसँगै बाज्रिलले सन् २०२४ को अध्यक्षमा पाउनेछ। त्यसपछि दक्षिण अफ्रिकामा सर्नेछ।
यसपटकको जी–२० सम्मेलन विभिन्न मुद्दाका कारण रोचक बन्ने देखिन्छ। पछिल्लो पटक भारत र चीनबीच बेइजिङले सार्वजनिक गरेको नक्सालाई लिएर पनि विवाद छ। केही दिनअघि चीनले निकालेको नक्सामा अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई चिनियाँ सीमाभित्र देखाइएको छ। यसमा दुई देशबीच घोचपेच हुने निश्चित छ।
उता रुस–युक्रेन युद्धले दिल्लीमा हुने शिखर सम्मेलनमा धेरै मतभेद निम्त्याउने आकलन छ। सन् २०२२ को मार्चमा जी २० का विदेश मन्त्रीको सम्मेलनमा अमेरिकी र रुसी प्रतिनिधिमण्डलबीच गम्भीर मतभेदका कारण कुनै सहमति हुन सकेको थिएन।
सन् २०२२ को नोभेम्बरमा बालीमा सम्पन्न नेताहरूको सम्मेलनमा युक्रेनी सीमाबाट पोल्यान्डतर्फको भूमिमा लडाइँका क्रममा क्षेप्यास्त्र खसेको विषय छलफलको केन्द्रमा रहेको थियो।
जी २० के हो ?
जी २० विश्वका शक्ति राष्ट्रहरूको एउटा समूह हो। यसको बैठक विश्वव्यापी अर्थतन्त्रबारे योजना बनाउन केन्द्रित हुने गर्छ।
जी २० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच विश्वको कुल व्यापारमध्ये ७५ प्रतिशत हुने गर्छ। विश्वको कुल जनसङ्ख्यामध्ये दुई तिहाइ मानिस यी देशमा बस्छन्। जी२० को सदस्यमा युरोपेली सङ्घ र १९ वटा देश छन्।
अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन्। स्पेनलाई पाहुनाका रूपमा निम्तो दिइएको छ।
जी २० राष्ट्रमध्ये सात वटाको समूह पनि छ। उसलाई जी ७ (जी–सेभन) भनिन्छ । जी २० का कतिपय देश– ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले ‘ब्रिक्स’ नामक अलग्गै समूह बनाएका छन्। उक्त समूह ठुलो हुने क्रममा छ। ब्रिक्सको हालै सम्पन्न शिखर बैठकमा अर्जेन्टिना, इजिप्ट, इरान, इथिओपिया, साउदी अरब र यूएईसहित छ देशलाई पनि आमन्त्रण गरिएको थियो।